Site icon Orange Khabar – News Portal

सडकको धुलोले असर गरेको भन्दै करिब डेढ घण्टा सडक बन्द

दाङ :  चार लेन सडक समयमै निर्माण नहुँदा र सडक अस्तव्यस्त हुँदा नागरिकहरूले धेरै समस्या भोगेको भन्दै तुलसीपुरका स्थानीयहरूले करिब ढेड घण्टासम्म सडक बन्द गरेका थिए । मंगलबार बिहान करिब साढे १० बजेदेखि उनीहरूले घोराही – तुलसीपुर सडक खण्ड अन्तर्गत हात्तीखौवा चोकमा बन्द गरेका थिए । लामो समयदेखि सडक निर्माण नहुँदा आफूहरूले धेरै समस्या भोगेको भन्दै बाध्य भएर सडक बन्द गर्नु परेको उनीहरूको भनाइ छ । तुलसीपुर उपमहानगरपालिका ६ हात्तीखौवाकी सावित्री श्रेष्ठले सडकका कारण आफूहरूले धेरै समस्या भोगेको बताइन् ।

सडक अस्तव्यस्त हुँदा गाडीहरूले धेरै धुलो उडाएर आफूहरू बस्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ थियो । उनले भनिन्,‘ २ / ३ वर्ष हुन लाग्यो हामीले यसरी नै सडकका कारण धुलो र हिलो खाँदै आएका छौँ । अहिले घरमा बस्ने सकिने अवस्था छैन् । सडकमा धुलो मात्र रहेको छ । त्यही धुलो गाडीहरूले उडाएर हाम्रो घरभित्र पस्छ । धुलोको कारण हाम्रो स्वास्थ्यमा असर परेको छ । यसको समाधानको लागि वडा कार्यालय तुलसीपुर उपमहानगरमा पटक पटक जानकारी गरायौँ । तर, हाम्रो कुराको सुनुवाइ भएन । अनि बाध्य भएर सडक बन्द गर्न पुगेका हौँ । सडक बन्द गर्नु हाम्रो रहर नभइ बाध्यता हो ।’

उपमहानगरलाई सडक बनाउने अधिकार त छैन् । तर, सडकमा उडेको धुलो नियन्त्रण गर्नको लागि पानी त हाल्न सक्छ रु तर, उपमहानगरले त्यो पनि गर्न सकेको छैन् । के हामी उपमहानगरका नागरिक होइन् । हामीले जनप्रतिनिधिलाई जिताएर यस्तो दुख पाउन पठाएको हौँ रु भन्दै प्रश्न गरिन् । सडकको धुलोको कारण घरबाहिर ५ मिनेट पनि बस्ने नमिल्ने अवस्था रहेको पनि उनको भनाइ थियो । उनका अनुसार घर भित्र धुलो आउँदा आफूहरूको स्वास्थ्यमा समेत समस्या हुन थालेको छ । यस्तै तुलसीपुर ६ बनकट्टाका हिमाल डिसीले पनि आफूहरूलाई धुलो मुक्त बनाउन आग्रह गरे । लामो समयदेखि आफूहरूले सडकको धुलो खाँदै आएको भन्दै यसको समाधानको लागि बाध्य भएर सडक बन्द गर्नु परेको बताए ।

उनले भने,‘ यहाँ तुलसीपुरका मेयर आएर धुलो नियन्त्रणका लागि प्रतिवद्धता गर्नु पर्छ । हामीलाई जसरी हुन्छ । धुलोबाट मुक्त गराउँनु पर्छ । यस अगाडि पनि हामीले सडक बन्द गर्दा आश्वासन पाएका थियौँ । तर, अहिलेसम्म कुनै पनि काम भएन । हामीले कहिलेसम्म यसरी धुलो खाएर बाच्ने रु मेयर पनि यही बाटोबाट हिँड्नु हुन्छ । तर, उहाँले गाडीको सिसा लगाएर हिँड्दा केही असर पर्दैन। हामीलाई २४ घण्टा धुलोले सताएको छ ।’ उनका अनुसार सयौँको सङ्ख्यामा गाडीहरू हिड्ने र धेरै कुदाउने भएकाले पनि धुलो धेरै उड्ने गरेको छ । धुलोले घरभित्र र सडक वरपर रहेका व्यापार व्यवसायलाई समेत नोक्सान गरेको उनको भनाइ थियो ।

उनले भने,‘ ५ मिनेट यो सडकमा उभिनु पर्छ । त्यो मान्छे चिनिँदैन । यस्तो धुलो उड्छ की, त्यो हामीलाई मात्र थाहा छ । त्यही अवस्थाले गर्दा आज हामी सडकमा आउनु परेको हो । विकासका नाममा स्थानीयहरूको स्वास्थ्यमा खेलवाड गर्न पाइदैन् । काम गर्न नसक्ने भए पनि सडकलाई किन यस्तो अस्तव्यस्त बनाएको हो ? ’ उनले आफूहरू यस अगाडि तुलसीपुर उपमहानगरपालिकामा धुलो नियन्त्रणको लागि दैनिक पानी हाली दिनको लागि आग्रह गर्न जादा तुलसीपुरका प्रमुख टिकाराम खड्काले बैशाख जेठमा त धुलो खानु भयो । अब बर्खामा पानी पर्छ । त्यसपछि धुलो उड्दैन भनेर गैर जिम्मेवार जवाफ दिएको पनि बताए । यस्तै अर्का स्थानीय तुलाराम गौतमले पनि स्थानीय सरकारको क्षेत्र अधिकारभित्र यो सडक नभएयता पनि स्थानीय सरकारले प्रदेश तथा केन्द्र सरकारसँग पहल गर्नु पर्ने बताए ।

२ वर्षमा निर्माण भइसक्नु पर्ने बाटो ४ वर्षसम्म हुँदा पनि १० प्रतिशत काम नभएको र भएको सडक पनि अस्तव्यस्त हुँदा नागरिकहरूले धेरै समस्या भोग्दै आएको उनले बताए । उनले नागरिकहरूले देशको विकास निर्माणको लागि राज्यलाई कर तिर्दै आएको भएयता पनि नेताहरूले देशको विकास भन्दा आफ्नो विकास गर्दा अहिले यस्तो अवस्था उत्पन्न भएको समेत आरोप लगाए । उनले भने,‘ सडकमा गाडीहरू चलाउँदा राज्यलाई कर तिर्नु पर्छ । यदि कर नतिरेमा राज्यले उल्टै जरिवाना तिराउँछ । तर, नागरिकहरूले कर तिर्दा यस्तो ज्यान नै जोखिममा पारेर यात्रा गर्नु बाध्य छन् । राज्यको दायित्व यही हो । नागरिकहरू चुनावमा भोटको लागि मात्र चाहिन्छ । ’

उनले विगतका निर्वाचनमा पनि नेताहरूले यही सडकलाई भोट माग्ने आधार बनाएको भन्दै अब आउने निर्वाचनमा पनि यसैलाई मुद्दा बनाएर माथि जाने भ–याङ बनाउने गरेको आरोप लगाए । स्थानीयहरू मात्र नभइ सवारी चालकहरूले पनि उस्तै समस्या भोग्दै आएका छन् । सडकको अवस्थाले गर्दा तुलसीपुरबाट पर्सेनी आउने यात्रुहरू भेटिए पनि आफूहरू बरु पश्चिम तिर जाने र यता आउन मन नलाग्ने तुलसीपुरमा अटो चलाउँदै आएका चालक गोविन्द सुवेदीले बताए । उनले सडकको अवस्था धुलो लगायत कारणले गर्दा गाडीहरू धेरै बिग्रिने गरेको पनि बताए । यस्तै उनले सडकका कारण नागरिकहरू पीडित भएको भन्दै उनीहरूले सडक बन्द गरेर आफ्नो माग राख्नु जायज भएको पनि बताए ।

उनले भने,‘ बाटोको यो अवस्था हुँदा पनि राज्यले ध्यान दिँदैन । स्थानीय सरकारले पनि चासो दिएको छैन् । यो सडकको धुलोले गर्दा मानिसहर बिरामी भएका छन् । अब केही कुराहरू गर्नको लागि पनि आन्दोलन गर्नु पर्ने अवस्था आएको छ । नत्र भने कसैले ध्यान दिएको देखिदैनन् । यता तुलसीपुर उपमहानगरपालिकाले भने सडक निर्माण आफ्नो क्षेत्राधिकार भित्र नपर्ने र चाँडो निर्माणको लागि पहल गर्न जनाएको छ । पीडितहरू बन्द खोलेपछि उपमहानगरमा छलफलका लागि गएका थिए । उपमहानगरकी उपप्रमुख स्यानी चौधरीले सडक निर्माण आफ्नो क्षेत्राधिकार भित्र नपर्ने र चाँडो भन्दा चाँडो निर्माणको लागि पहल गर्ने बताएकी थिइन् । उनले धुलोको समस्या समाधान गर्नको लागि दैनिक पानी हाल्ने सहमति भएको पनि बताइन् ।

साभार अनलाईन राप्ती

Exit mobile version