लक्ष्मण बस्नेत
दाङ : तुलसीपुरको अरनिको सर्वाधिक पुरस्कार राशिको दोश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ मा स्पोर्ट्स स्कुल फुटबल एअकाडेमी तुलसीपुर र टरिगाउँ युवा क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।
हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा सञ्चालित प्रतियोगिता अन्तरगत बुधबार सम्पन्न आफ्नो पहिलो खेलमा फोर ब्रदर्स नवलपरासी लाई एकका विरुद्ध तीन गोल अन्तरले पराजित गर्दै स्पोर्ट्स स्कुल फुटबल एकेडेमीले सेमिफाइनल यात्रा तय गरेको हो ।
उल्लेख्य दर्शकले भरिएको अरनिको मैदानमा भएको कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलको ८ औ मिनेटमा स्पोर्ट्स स्कुल फुटबल अकाडेमीका मनराज बाठाले पहिलो गोल गर्दै पहिलो हाफको समाप्तिमा टिमलाई एक शून्यको अग्रता दिलाए। त्यस्तै बिनोद केसीले दोस्रो हाफको ७ औ मिनेट गोल गरे । उता आफ्ना थुप्रै गोल गर्ने सुनौलो अवसर गुमाएको फोर ब्रदर्स नवलपरासीका निशान्त थारूले दोस्रो हाफको १३ औ मिनेटमा जबाफी गोल गर्दा स्पोर्ट्स स्कुलका मनराज बाठाले खेलको ९० औ मिनेटमा थप एक गोल गर्दै टिम लाई ३– १ को जित दिलाउन सफल भए । त्यस्तै बडहरा फुटबल क्लब घोराहीलाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै टरिगाउँले सेमिफाइनल यात्रा तय गरेको हो ।
स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पु-याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा बिहीवार ज्ञानज्योति इनोभेटिभ तुलसीपुर र युएनबिसी भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ । प्रतियोगितामा उपाधि चुम्ने टिमले नगद १ लाख ५१ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेताले नगद ७५ हजार ५ सय, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै प्रतियोगिता अवधिभर सर्वोत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत विधा तर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३ हजार ट्रफी र प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई केही नगद सहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जानकारी दिएकोछ ।
