दाङ : लुम्बिनी प्रदेशमा मन्त्रालयको जिम्मेवारी हेरफेर भएको छ । गत माघ २८ गते नेकपा एमालेबाट कृषि तथा भूमि व्यवस्था मन्त्रालयको मन्त्रीमा नियुक्त भएका तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियुक्त गरिएको छ । प्रदेश प्रमुखको कार्यालय अनुसार जनता समाजवादी पार्टीका भण्डारी लाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको मन्त्रीमा नियुक्त गरिएको छ ।
कार्यालयले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा ( ९ ) बमोजिम प्रदेशका मुख्यमन्त्री लिला गिरीले गरेको सिफारिस अनुसार प्रदेश प्रमुख अमिक शेरचनले गत माघ २८ गते गठित मौजुदा मन्त्रिपरिषद्मा जिम्मेवारी तथा नियुक्त गरेको जनाएको छ । यसैबीच नवनियुक्त मन्त्रीको शपथ ग्रहण कार्यक्रम सोमबार बिहान ११ बजे हुने सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए ।
शर्मा प्यूठान निर्वाचन क्षेत्र १ ( १ ) बाट निर्वाचित भएका थिए, भने अहिर बाँके निर्वाचन क्षेत्र २ (१) बाट निर्वाचित भएका थिए । प्रदेशमा मुख्यमन्त्रीसहित मन्त्रिपरिषद् १० सदस्यीय रहेको छ । जसमा एमालेले मुख्यमन्त्रीसहित ५ वटा मन्त्रालय लिएको थियो, भने माओवादी केन्द्रले ३ वटा राप्रपा र जनमत पार्टीले एक / एक वटा मन्त्रालय पाएका थिए । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री गिरीलाई एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र उन्मुक्ति पार्टीका ४–४ , जसपा , जनमत र लोसपाका ३–३ तथा २ स्वतन्त्र गरी ५८ सांसदको समर्थन रहेको थियो ।

