Site icon Orange Khabar – News Portal

यूएईलाई हराउँदै नेपाल यू-१९ विश्वकपमा

काठमाडौं
१८-फागुन/ नेपाल आईसीसी यू-१९ विश्वकप क्रिकेटमा प्रवेश गरेको छ । एसिया क्षेत्र छनोटमा घरेलु टिम यूएईलाई सात रनले पराजित गर्दै नेपाल विश्वकपमा प्रवेश गरेको हो । १९२ रनको सामान्य चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको यूएईले ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमै समेटिएपछि नेपालले रोमाञ्चक जित निकालेको हो । इथान कार्लले ५१, आर्यन सक्सेनाले ३४ र आर्यन्श शर्माले ३२ रन बनाए । बलिङतर्फ नेपालका दिपेश कँडेलले पाँच विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात गर्दै ४८.५ ओभरमा सबै विकेटको क्षतिमा १९१ रन बनाएपछि यूएईले सामान्य चुनौती पाएको थियो । नेपालले १९ रन हुँदा तेस्रो विकेट गुमाइसकेको थियो । नेपालका ओपनर दिपक बोहरा पहिलो बलमै आउट भए । त्यसपछि अर्जुन कुमाल व्यक्तिगत तीन रन बनाएर आउट भए ।

तेस्रो विकेटका रूपमा आकाश त्रिपाठी ९ रनमा पभिलियन फर्किएपछि नेपाल दबाबमा आएको थियो । तर, कप्तान देव खनाल र उत्तम थापामगरले ८४ रनको साझेदारी गर्दै नेपाललाई उकासेका थिए । कप्तान देव ५१ रनमा आउट भए । त्यस्तै, विशाल विक्रम केसीले ३८, उत्तम थापामगरले ३६, दिपेश कँडेलले १५, हेमन्त धामीले १३ र मिलन बोहराले १० रन बनाए ।

बलिङतर्फ यूएईका ध्रुव परसारले तीन, हरित हरिश शेटी र आयन अफ्जल खानले समान २–२ विकेट लिए । यूएईलाई हराएसँगै नेपालले आगामी वर्ष श्रीलंकामा हुने आईसीसी यू(१९ विश्वकप क्रिकेट खेल्न पाउने भएको छ ।

Exit mobile version