२८ चैत, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र सांसद् ढाकाकुमार श्रेष्ठसँग भयको कुराकानी को अडीयो टेप बाहीरीए पछी सांसद् ढाकाकुमार श्रेष्ठ संग पार्टीको अनुशासन समितिले मंगलबार बयान लिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन समितिले बसुन्धारास्थित पार्टी कार्यालयमा श्रेष्ठलाई बोलाएर एक घण्टा सोधपुछ गरेको हो । समितिका एक जना सदस्यका अनुसार, बयानमा उनले सार्वजनिक अडियोमा भएको आवाज आफ्नो नभएको जिकिर गरेका छन् ।
‘मलाई नियतवश फसाउन खोजिएको हो’, उनको दाबी उदृत गर्दै समिति स्रोतले भन्यो, ‘अडियो पूरै एडिटेड हो ।’ बयानका क्रममा उनले आफू लामो समयदेखि स्वास्थ्य क्षेत्रसँग जोडिएको भन्दै सुधार गर्नुपर्ने विषयहरु थुप्रै भएको बताएका छन् ।समिति स्रोतका अनुसार सोमबार राति बुझाएको स्पष्टीकरणमा पनि उनले यिनै विषयहरु बुझाएका थिए । अडियो सार्वजनिक भएलगत्तै पार्टीले उनलाई निलम्बन गर्दै २४ घन्टे स्पष्टीकरण सोधेको थियो ।
मंगलबार राति उनले समितिलाई एक पृष्ठको स्पष्टीकरण बुझाएका थिए । त्यसमा स्वास्थ्य क्षेत्रका विसंगतिहरु उल्लेख गर्दै आफूलाई फसाइएको दाबी गरेको रास्वपा स्रोतले जनाएको छ । उनले समितिको निर्णय आफूलाई स्वीकार्य हुने पनि उल्लेख गरेका छन् ।
अडियोमा पार्टी सभापति रवि लामिछानेको ‘कोर टिम’लाई बुझाउनुपर्ने भन्दै रकम मागिएको थियो । ‘तर उहाँले आवाज नै एडिटेड हो भन्नु भएपछि कोर टिम भनेको को हो भन्ने कुरै आएन’, समिति स्रोतले भन्यो, ‘यद्यपि, सम्पूर्ण कुरा प्रतिवेदनमा समेट्छौं ।’
मंगलबार दुर्गा प्रसाईंसँग श्रेष्ठले भेट्न खोजेको भन्दै अर्का उनको भाइ बताउने व्यक्तिले गरेको संवादको अडियो पनि बाहिरिएको थियो । त्यस विषयमा चाहिँ सोधपुछ नभएको समिति स्रोतले बताएको छ ।

