Site icon Orange Khabar – News Portal

अब हालमा चल्ने भयो ‘एक भगवत् र एक गीता’ पायो प्रदर्शन अनुमति,

काठमाडौं ।

धार्मिक संस्थासँगको पाँच दिन लामो रस्साकस्सीपछि फिल्म ‘एक भगवत् र एक गीता (सामाजिक कथा)’ले प्रदर्शन अनुमति प्राप्त गरेको छ । केन्द्रीय चलचित्र जाँच समितिले यो फिल्मलाई ‘युनिभर्सल’ प्रमाणपत्र दिएको छ ।

मंगलबार सेन्सर बोर्डका पदाधिकारीले फिल्म हेरेका थिए । बोर्डले फिल्मको लम्बाइ दुई घण्टा १९ मिनेट तय गरेको छ । सेन्सर बोर्डले फिल्ममा समावेश कुनै दृश्य र संवादमा कैंची नचलाएको निर्माता सुनिलकुमार थापाले बताए ।

फिल्म हेरेपछि सेन्सर बोर्डका पदाधिकारीले फिल्मको प्रशंसा गरेको सुनिलले बताए । ‘फिल्ममार्फत तपाईंले तराईदेखि पहाडसम्मलाई जोड्नुभएको छ । संस्कृति जोगाउनुभएको छ । मौलिकता पेश गर्नुभएको छ भनेर बधाई दिनुभयो,’ उनले भने ।

आफूहरुले धर्ममा आँच आउने कुनै कार्य नगरेको फिल्म सेन्सर पास भएपछि पुष्टि भएको थापाले बताए । ‘हामीले पहिल्यैदेखि भनेका थियौं कि धार्मिक कुरामा आँच आउने कुरा गरेका छैनौं,’ सुनिलले भने, ‘बरु सेन्सर बोर्डबाट बधाई प्राप्त भयो ।’

१३ हिन्दु धार्मिक संस्थाले फिल्मको शीर्षकमा विरोध जनाएपछि फिल्मको सेन्सर प्रक्रिया अघि बढेको थिएन । चलचित्र विकास बोर्डको मध्यस्थतामा ती धार्मिक संस्था र निर्माताबीच आइतबार शीर्षक परिवर्तन गर्ने सहमति भएको थियो । सहमतिसँगै बोर्डले सेन्सर सिफारिस प्रदान गरेको थियो ।

तर उक्त सहमतिले गलत नजीर स्थापना गरेको र अभिव्यक्ति तथा कलात्मक स्वतन्त्रतामा आँच आउन सक्ने भन्दै फिल्म वृत्तबाट चौतर्फी विरोध भइरहेको छ । स्मरण रहोस्, यो फिल्मको नाम चौथो पटक परिवर्तन भएको हो । भदौ २९ गते रिलिज हुने तयारीमा रहेको फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । फिल्ममा विपिन कार्की, सुहाना थापा र धीरज मगरको शीर्ष भूमिका छ ।

साभार अनलाई खबर

Exit mobile version