दाङ : तुलसीपुर महोत्सव–२०८० मा शुक्रवार अधिकांश स्टलहरूमा भीडभाड देखिए भने २ बजेपछि महोत्सवमा दर्शकको संख्या त्यसअघिको तुलनामा दोब्बर वृद्धि भएको आयोजकले जनाएको छ । शुक्रवार मात्रै करिब २० हजार दर्शकले मेला अवलोकन गरेका छन् । केही दिन यता महोत्सवमा सामग्री खरिदको गति तीब्र भएको छ । शुक्रबार सामान किनबेच आजसम्मकै बढी भएको वाणिज्य सघंका कार्यालय प्रमुख पारेश्वर भट्टराईले बताए । उनका अनुसार फेन्सी, सिरक डसना, जुत्ता, चप्पल, भाँडाकुँडा, सर्फ साबुन लगायत दैनिक उपभोग्य तथा घरायसी प्रयोजनका लागि आवश्यक पर्ने सामग्रीहरूको स्टलमा बढी भिडभाड देखिएको थियो ।
महोत्सवमा स्थानीय कलाकारहरूको प्रस्तुति रहँदा आधा बढी दर्शकहरू स्टलको किन मेलमा व्यस्त देखिन्थे । बेलुका करिब ५ बजेतिर शुक्रबारको महोत्सवको मुख्य आकर्षण प्रीति आले स्टेच चढिन् । चिसो मौसममा सेलाउँदै गएको माहोल पुन तात्यो । मोडन टाइपका गायन प्रस्तुतिमार्फत युवापुस्तामा लोकप्रिय गायिका आलेको प्रस्तुति अवधिभर युवाहरूको उत्तेजित भीड सम्हाल्नै हम्मेहम्मे भयो । बाबरी म भोलि जाँदैछु, तिमी बस रामरी, सोल्टी राजाको, आच्छुछुछु जाडो, टुप्पी ठाडो, के छ माया जाल, आयो मेरो डिस लगायतका करिब एक दर्जन प्रस्तुति राखेकी गायिका आलेले दर्शकलाई करिब ७ बजेसम्म दर्शकलाई मेलामै झुमाइरहन सफल भइन ।
तुलसीपुर महोत्सव–२०८० मा शनिवार चर्चित हास्यकलाकार सीताराम कट्टेल ( धुर्मुस ) र कुञ्जना घिमिरे ( सुन्तली ) आउँदै छन् । त्यस्तै अन्य कलाकारहरू गायक बिक्रम परियार, रोशन रत्गैया, सन्दिप सुनार, गायिका इब्सु सञ्ज्याल, डान्सर करिष्मा ढकाल र रञ्जिता पाण्डेको प्रस्तुति रहने सांस्कृतिक संयोजक रूप बहादुर खत्रीले जानकारी दिए ।
