दाङ : नारायणपुरस्थित श्री सिद्ध रत्ननाथ माविका एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । सोमबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् ।गरिब तथा जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यका साथ एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर डाँगीले एसएलसी २०५३ ब्याचले उदाहरणीय तथा महत्त्वपूर्ण काम गरेको बताए ।
सामुदायिक विद्यालयका विद्यार्थीलाई प्राथमिकतामा राखेर गरिएको यस्तो कार्यले सकारात्मक सन्देश दिएको अध्यक्ष डाँगीले बताए । कार्यक्रमका विशिष्ट अतिथि तथा विद्यालयका प्रधानाध्यापक उत्तम खनाल २०५३ ब्याचले उदाहरणीय कार्य गरेको बताए । हरेक ब्याचले यस्तै उदाहरणीय कार्य हरेक विद्यालयमा गरेमा कुनै विद्यार्थी शिक्षाबाट बञ्चित हुन नपर्ने प्रधानाध्यापक खनालले बताए । कार्यक्रमको विशिष्ट अतिथि तथा विद्यालय विकास तथा परामर्श समितिका सदस्य बिनिता गुरूङ थापाले अक्षयकोष स्थमपना सामाजिक कार्यको एक उदाहरणीय कार्य रहेको बताइन् ।
कक्षा पाँच उत्तीर्ण गरेको गरिब तथा जेहेन्दार विद्यार्थीलाई अक्षयकोषबाट छात्रवृत्ति प्रदान गरिने छ । अक्षयकोष तथा छात्रवृत्तिका बारेमा २०५३ ब्याचका आदिम केसीले प्रकाश पारेका थिए । अक्षयकोष स्थापना कार्यक्रममा २०५३ ब्याचका ४२ जना विद्यार्थीको सहभागिता रहेको छ । २०५३ ब्याचका विद्यार्थी केशवा खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण २०५३ ब्याचका विद्यार्थी थम्मन बस्नेतले गरेका थिए ।
