Site icon Orange Khabar – News Portal

पेट्रोल पम्पमा गएको कारमा एकाएक आगलागी भएपछि

दाङ :  दाङको तुलसीपुरस्थित एक पेट्रोल पम्पमा गएको कारमा एकाएक आगलागी भएपछि केही बेर तुलसीपुरको मुख्य बजार क्षेत्र त्रासमय बन्यो। शनिबार दिउँसो तुलसीपुर उपमहानगरपालिका – ६ स्थित तुलसी पेट्रोल पम्पमा तेल हाल्न गएको रा १ च १४६४ नम्बरको कारमा एकाएक आगलागी भएको थियो। कारमा अचानक आगो बलेपछि पेट्रोल पम्पका कर्मचारी र त्यहाँ रहेका मानिसहरूले ठेलेर पम्पबाट केही पर पुर्‍याएका थिए। लगत्तै पेट्रोल पम्पको फायर एक्सटिंग्विसरको सहायताले कारमा लागेको आगो निभाइएको छ। केहीबेरमा तुलसीपुर उपमहानगरपालिकाको दमकल समेत पुगेको थियो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसादद पोखरेल लगायतको प्रहरी टोलीपनि घटनास्थल पुगेको थियो। आगलागी भएको झन्डै आधा घन्टाको अन्तरालमा पूर्ण रुपमा आगो नियन्त्रणमा आएको थियो। समयमै आगो निभाउन नसकेको भए र आगो पेट्रोल पम्पसम्म फैलिएको भए तुलसीपुर बजारमा ठूलो क्षति हुने त्रास फैलिएको थियो। डिएसपी पोखरेलले स्टार्ट गर्ने क्रममा कारमा आगलागी भएको बताए। ‘कार पुरानो रहेछ,’ उनले भने, ‘वायरिङको गडबढीले एकाएक स्टार्ट गर्ने क्रममा कारमा आगलागी भएको हुनुपर्छ।’

Exit mobile version