पोखरा,८ असोज २०८१। चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा गितेन्द्र बाबु राई (जिबी) सहित १७ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय चितवनले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।
बचत कर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको आधारमा सरकारी वकिलको कार्यालयले आज (मंगलबार) मुद्दा दर्ता गरेको जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुईटेलले जानकारी दिए।
अदालतमा १७ जनाविरूद्ध मुद्दा दायर भए पनि चितवन प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।
चितवनका सरकारी वकिल शान्तिप्रसाद लुइँटेलले साहारा सहकारीका बचतकर्तामध्ये ४ सय ४६ जनाले प्रहरीमा दिएको उजुरीका आधारमा अनुसन्धान भएर आएको प्रतिवेदनका आधारमा मुद्दा दायर भएको बताए । सहकारीका कुल बचतकर्ता ६ हजार ३ सय ३४ रहेको र कुल बचत रकम ५२ करोड ३२ लाख ८५ हजार ३ सय ८ रूपैयाँ रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
साहारा सहकारीबाट गोर्खा मिडियामा रकम गएको देखिएकोले त्यसबारे पुन: अनुसन्धान गरेर पुरक प्रतिवेदन पेस गर्न चितवन जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल)को कार्यालयले चितवन प्रहरीलाई निर्देशन दिएको छ ।
सहकारीको बचत अपचल गरेको अभियोगमा कास्की प्रहरीले पक्राउ गरेको र अदालतले कारागार चलान गरेका कुमार रम्तेललाई मात्रै चितवन झिकाएर प्रहरीले बयान लिएको थियो । अन्य १६ मध्ये ११ जना फरार, ३ जना कारागारमा रहेको र ३ जना अनुपस्थित रहेको भनी मुद्दा दायर भएको छ ।
सरकारी वकिलको कार्यालयले साहारा सहकारीबाट रकम गएको भनिएको गोर्खा मिडियाको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको रकममध्ये ४७ करोड रूपैयाँ बराबरको कारोबार के-कसरी, को-कोसँग भएको हो ? सोको विवरण प्राप्त भएको नदेखिएकाले त्यसबारे अनुसन्धान अघि बढाउन चितवन प्रहरीलाई निर्देशन समेत दिएको छ ।
जनसंचार बाट
