Site icon Orange Khabar – News Portal

स्वरोजगारी र आर्थिक विकास आजको मुख्य आवश्यकता हो : पूर्वमुख्यमन्त्री चौधरी

दाङ :  लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वरोजगारी र आर्थिक विकास आजको मुख्य आवश्यकता भएको बताए । मङ्गलबार   तुलसीपुर ६ डुर्मी गाउँस्थित भुँयार थानमा दुई महिने मन्टेश्वरी, कम्प्युटर र अचार उत्पादन तालिम उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेतासमेत रहेका चौधरीले सीप दिने तर कमाउने नसक्ने हो भने त्यसको अर्थ नहुने बताए । आजको युगमा हरेक सीप सिकेका ब्यक्तिले २० हजार माथि कमाउन सकेमा मात्रै दिएको तालिम सफल हुने उनको तर्क थियो ।

‘ तालिम दिनेहरूले त्यो भन्दा पहिला डाटामा राख्न जरुरी हुन्छ,’ उनले  भने ‘ कहाँ के कुराको आवश्यकता हो त्यो डाटाको आधारमा दिइने तालिमहरू मात्रै सफल हुन्छन् ।’विकासलाई डाटामा राख्न सके त्यसले त्यो ठाउँको आवश्यकता र सम्भावना बुझ्न सजिलो हुने उनको कथन थियो । कुनैपनि ठाउँको डाटाले त्यो ठाउँको मार्केट बोल्ने हुँदा तालिम भन्दा पहिला डाटा सर्भे गर्नु आवश्यक हुने उनको जोड थियो ।तालिममा सिकेको सीप व्यवहारमा उपयोग गर्न नसके त्यसको अर्थ नहुने भन्दै सिकेको सीपलाई व्यवहारमा उतार्नका लागि सबै सहभागीहरू लाग्न सक्नु पर्ने बताए ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले तालिमले स्वरोजगार सिर्जना गर्ने हुँदा तालिमको भरपुर सदुपयोग गरि भविष्यमा आत्मनिर्भर हुने गरि ध्यान दिन आग्रह गरे । तालिम वा सीप सिद्धिएकै दिन त्यो सिकेकै दिन सिद्धियो भन्ने हो भने तालिममा बस्नु र नबस्नुको कुनै अर्थ नरहने उनले बताएका थिए ।‘अहिलेको जमानमा कम्प्युटर चलाउन नजाने पिएचडी गरेपनि अर्थ छैन,’ उनले भने ‘ कम्प्युटर मन्टेश्वरी र अचार उत्पादन तालिम एउटा ठूलो अवसर भएको हुँदा सीप सिकेर सकेपछि आफ्नै टोलको बेरोजगारी घटाउन तथा स्वरोजगारी सृजनामा लाग्नु हुने छ भन्ने आशा छ ।’

कार्यक्रममा सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष डा। नहकुल केसी, समाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गिरिराज शर्मा, तुलसीपुर – ९ का वडाध्यक्ष घनश्याम ढकाल, तुलसीपुर – ५ का वडाध्यक्ष बिरेन्द्र शाह, तुलसीपुर – ७ का वडाध्यक्ष रामबहादुर जिसी, तुलसीपुर – ६ का वडाध्यक्ष दुजमान भण्डारी, बेस संस्थाका कार्यकारी निर्देशक चुर्ण बहादुर चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । दुई महिनासम्म चल्ने तालिममा तुलसीपुरको  ५, ६,७ र ९ नम्बर वडाका गरि एक सय बढी महिलाहरू सहभागी छन् ।  सेवा प्रतिष्ठान नेपालका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा कार्यक्रम भएको थियो भने सहजीकरण कल्पना चौधरीले गरेकी थिइन

Exit mobile version