दाङ, ७ पुस । दाङको तुलसीपुरमा जारी प्रथम तुलसीपुर महोत्सवमा दिनप्रतिदिन रौनकता थपिँदै गएको छ । महोत्सवको चौथो दिन सोमबार चर्चित लोक दोहोरी गायक श्याम रानाको विशेष प्रस्तुतिमा हजारौँ दर्शक झुमेका छन् ।
‘चक्लेटी गायक’को उपनामले समेत चिनिने रानाको जादुमय स्वर र प्रस्तुतिले महोत्सव स्थल साँझसम्म नै गुञ्जायमान बनेको थियो ।
कार्यक्रमको मुख्य आकर्षण तब बन्यो, जब गायक राना स्टेजको सीमित घेरालाई छाडेर सिधै दर्शक दीर्घामा पुगे । आफ्ना प्रिय कलाकारलाई आफ्नै माझमा पाउँदा दर्शकहरूको उत्साह निकै चुलिएको थियो ।
रानाले दर्शकहरूसँगै हात मिलाउँदै र नाच्दै गीत गाउँदा सुरक्षाकर्मीलाई भिड व्यवस्थापन गर्न समेत हम्मेहम्मे परेको थियो । ठट्यौली स्वभावका रानाले आफ्ना चर्चित गीतहरू मार्फत दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।
चिसो मौसमका बाबजुद पनि सोमबार महोत्सव स्थलमा दर्शकको बाक्लो उपस्थिति रहेको थियो । साँझ अबेरसम्म पनि दर्शकहरू रानाको प्रस्तुतिमा झुमिरहेका देखिन्थे । महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनीका साथै सांस्कृतिक कार्यक्रमले दर्शकलाई आकर्षित गरिरहेको महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले बताएका हुन । उनले दिनप्रतिदिन महोत्सवमा कारोबारसमेत बढ्दै गएको बताएका हुन ।
स्थानीय उत्पादनको बजारीकरण र कलासंस्कृतिको प्रवद्र्धन, पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यका साथ संचालित महोत्सवमा दैनिकजसो राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुति रहने गरेको छ । सोमबार पनि महोत्सवमा श्याम राना, अमृत विश्वकर्मा, गायिका बिमला खड्का लगायतका कलाकारको प्रस्तुतिले महोत्सवको गरिमा र रौनकलाई थप उचाईमा पुर्याएको दर्शकहरुले प्रतिक्रिया दिएका छन् ।
महोत्सवमा जल परीदेखि लण्डनब्रिज पनि दर्शक रोजाइमा पर्ने गरेका छन् । जलपरी र लण्डनब्रिजमा फोटो खिच्ने र भिडियो बनाउनेको निकै भिडभाड हुने गरेको छ । स्थानीय कृषिजन्यवस्तु, हस्तकलाका सामग्रीको कारोबार भइरहेको महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्र बहादुर वलीले बताउनुभयो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि शुरु भएको थियो । महोत्सव १९ गतेसम्म संचालन हुने छ ।
