Site icon Orange Khabar – News Portal

स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते

बागलुङ, २०८२ माघ २९ —
बागलुङ नगरपालिका–३ स्थित शिवधारा चोक नजिकको भित्री सडक खण्डमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते भएका छन्।
न्यू एभरेष्ट बोर्डिङ स्कुल, रामरेखा (बागलुङ नगरपालिका–१) को ग ३ च ८६२१ नम्बरको स्कुल भ्यान विद्यालयबाट विद्यार्थीहरूलाई घरतर्फ पुर्याउने क्रममा रातामाटा तर्फ जाँदै गर्दा दिउँसो करिब ४:३० बजे सडकबाट अन्दाजी ५०–६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
भ्यानमा सवार विद्यार्थीहरूको यकिन संख्या खुल्न नसके पनि हालसम्म २३ जना घाइते विद्यार्थीलाई धौलागिरी प्रादेशिक अस्पताल, बागलुङमा उपचारका लागि पठाइएको छ। अस्पताल स्रोतका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम तथा सामान्य रहेको छ।
दुर्घटनामा भ्यान चालकसमेत घाइते भएका छन् र उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाग्रस्त सवारी साधन घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी उपरीक्षक तिलक भारतीको कमाण्डमा ३० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनास्थल जिल्ला प्रहरी कार्यालय बागलुङबाट करिब २ किलोमिटर उत्तरतर्फ पर्छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
Exit mobile version