Site icon Orange Khabar – News Portal

तुलसीपुरमा एमालेको झण्डा जलाइएको घटना : एक जना पक्राउ, आरोप–प्रत्यारोप जारी

दाङ, तुलसीपुर : तुलसीपुरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को चुनाव चिह्न सूर्य अंकित झण्डा जलाइएको घटनाले राजनीतिक तरंग सिर्जना गरेको छ। उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

घटनापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता संलग्न रहेको आरोप लगाएको छ। एमालेले यसलाई लोकतन्त्र र निर्वाचन आचारसंहिता विपरीत कार्य भन्दै दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी दाङले भने उक्त आरोप अस्वीकार गर्दै समाचारलाई भ्रामक र नियोजित भनेको छ। रास्वपाले निष्पक्ष छानबिन गरी वास्तविक दोषी पत्ता लगाउन माग गरेको छ।

यसैबीच नेपाल तरुण दल तुलसीपुर उपमहानगर समितिले पनि चुनावी प्रचारका क्रममा झण्डा जलाउने, पोस्टर च्यात्ने तथा अवरोध सिर्जना गर्ने गतिविधिप्रति चिन्ता व्यक्त गर्दै प्रशासनलाई कडा कारबाही गर्न आग्रह गरेको छ।

हाल प्रहरीले पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान अगाडि बढाएको जनाएको छ। घटनाले निर्वाचन माहोलमा थप तनाव सिर्जना गरेको छ।

Exit mobile version