Site icon Orange Khabar – News Portal

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

दाङमा ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ।nदाङ जिल्लाको बबई गाउँपालिका–७ बेलासपुर र कृष्णपुर घाट क्षेत्रमा शनिबार बिहान करिब ६ बजे माछा मार्ने क्रममा शान्तिनगर गाउँपालिका–४ हिरापुर निवासी ४७ वर्षीय भोजराज केसीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भोजराज केसीसहित ७ जनाको टोलीले ब्याट्रीबाट करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा उनी घाइते भई बेहोस भएका थिए। उनलाई तत्काल उपचारका लागि एम्बुलेन्समार्फत राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। उपचारकै क्रममा बिहान ७ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनापछि प्रहरी चौकी चिराघाटबाट प्रहरी सहायक निरीक्षक हिरालाल सेन्चुरीको नेतृत्वमा २ जना तथा इलाका प्रहरी कार्यालय खिलतपुरबाट प्रहरी निरीक्षक कमल परियारको नेतृत्वमा ५ जनाको टोली घटनास्थलमा खटिएको थियो।

घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेहरूमा शान्तिनगर गाउँपालिका–४ का रामप्रसाद पाण्डे, ५३ वर्षीय मेखलाल रेउले, ४१ वर्षीय गणेश अधिकारी, २७ वर्षीय युवराज भण्डारी, ३४ वर्षीय संगम पाउ तथा शान्तिनगर गाउँपालिका–३ का गोविन्द सुबेदी रहेका छन्।

मृतक केसीको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शवगृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Exit mobile version