Site icon Orange Khabar – News Portal

तुलसीपुरमा बालेन शाहको अभिव्यक्तिविरुद्ध माओवादीद्वारा राँके जुलुस

दाङ, तुलसीपुर । प्रधानमन्त्री बालेन शाह ले संसदमा नेपालले पनि भारतको केही भूभाग मिचेको भन्ने आशयको अभिव्यक्ति दिएपछि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका छन्। यसैक्रममा आज तुलसीपुरमा पनि नेकपा माओवादी केन्द्र निकट कार्यकर्ताहरूले राँके जुलुस प्रदर्शन गरेका छन्।

नेकपा माओवादी केन्द्र तुलसीपुरको आयोजनामा तुलसीपुर बसपार्क क्षेत्रमा राँके जुलुस निकालिएको हो। प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान र नेपालको भौगोलिक अखण्डतामाथि प्रश्न उठाएको भन्दै आपत्ति जनाएका थिए। उनीहरूले विवादास्पद भनाइ फिर्ता लिन तथा राष्ट्रहितविपरीत अभिव्यक्ति नदिन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले राष्ट्रियता पक्षधर नाराबाजी गर्दै सरकारको आलोचना गरेका थिए। तुलसीपुर बसपार्क आसपासको क्षेत्र केही समय नाराबाजीले गुञ्जिएको थियो भने सुरक्षा व्यवस्थासमेत कडा पारिएको थियो।

प्रधानमन्त्री बालेन शाहले संसदमा नेपाल र भारतबीचको सीमा विवादका विषयमा बोल्दै दुवै देशले एकअर्काको भूभाग अतिक्रमण गरेको उल्लेख गरेपछि उक्त अभिव्यक्तिको चौतर्फी चर्चा र विरोध भइरहेको छ। सो अभिव्यक्तिपछि काठमाडौंसहित विभिन्न स्थानमा प्रदर्शनहरू भएका समाचार सार्वजनिक भएका छन्।

तुलसीपुरमा भएको राँके जुलुसलाई स्थानीय स्तरमा राष्ट्रियताको पक्षमा गरिएको खबरदारीका रूपमा हेरिएको छ।

Exit mobile version