दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वर्षौंसम्म बिग्रिएर थन्किएका डायलासिस सेवा मर्मत गरेर सञ्चालनमा ल्याइएको छ । मेसिन थिग्रिएर थन्किएपछि मिर्गौला रोगका बिरामीहरू लामो समयदेखि पालो कुर्न वाध्य रहँदै आएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, निर्देशक तथा सहप्राध्यापक डा सुरेश रसाइलीले पोखराबाट हेमो डायलासिस सम्बन्धी प्राविधिक विज्ञको टोली बोलाएर बिग्रिएका डायलासिस मेसिनहरू बनाइएको बताए ।
उनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय लगायत सरकारी निकाय तथा निजी क्षेत्रले ऋक्च् अन्तर्गत डायलासिस मेसिन उपलब्ध गराउन चाहेमा प्रतिष्ठान समन्वय गर्न सधैँ तयार रहेको बताए ।
मेसिनहरू बनेपछि विरामहरू थप लाभान्वित भएको भन्दै उनले प्रतिष्ठानमा लामोसमय देखी पाँच वटा डायलासिस मेसिन बिग्रिएर थन्किएका थिए । डायलासिस मेसिन बनेर सञ्चलनमा आएपछि बिरामीहरू खुसी भएका छन् । मेसिन बनेपछि इमरजेन्सीमा डायलासिस गराउँदै आएका २२ जनाबाट घटेर ३ जनामा आएको निमित्त कार्यालय प्रमुख डा. रसाइलीले बताए । मेसिन बनेपछि दैनिक थप ११ जना मिर्गौलाका बिरामीहरूले डायलासिस सेवा प्राप्त गरेका छन् । तिन सिफ्टमा चल्ने प्रतिष्ठानको डायलासिस सेवा दैनिक ३३ जना बिरामीले प्राप्त गर्दै आएका छन् ।
बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म चल्ने डायलासिस सेवावाट हालसम्म ९१ जना मिर्गौलाका बिरामीहरू लाभान्वित भइरहेका छन् । डायलासिस सेवालाई प्रभावकारी बनाउन नर्सिङ इन्चार्जसहित १८ जना नर्सिङ स्टाफलाई तालिमसमेत दिइएको छ । हाल प्रतिष्ठानमा १५ वटा हेमोडायलासिस सेवा सञ्चालनमा रहेका छन् । उनले मेसिन थपिएपछि अरु थप वेटिङ मा रहेका ५४ जना मिर्गौलाका बिरामीलाई सेवा दिन सकिने बताए ।प्रतिष्ठानका वायोमेडिकल ई. शिरीष बुढाथोकीको नेतृत्वमा वायो मेडिकल टेक्निसियनहरू आशिष गौतम, अङ्कित अधिकारीसहितको टोलीको लामो मेहनतपछि प्रतिष्ठानमा जिग्रीका मेसिनहरू सञ्चालनमा आएका छन् । प्रतिष्ठानका विशेषज्ञ चिकित्सकको नेतृत्वमा नर्सिङ इन्चार्जसहित आइसीयु र डायलासिस सेवामा १८ जनाको टोली खटिएर निरन्तर सेवा दिदैँ आएको छ । साथै प्रतिष्ठानले मुुलुकमै पहिलोपटक आइसीयुमा रहेका मिर्गौलाका बिरामीहरूलाई लक्षित गरेर आइसीयुमा डायलासिस सेवा पनि दिदैँ आइरहेको छ ।
