Site icon Orange Khabar – News Portal

बाँकेमा अतिक्रमित जग्गा खाली गराउन गएका प्रहरीमाथि खुकुरी प्रहार

नेपालगञ्ज, जेठ २८ – बाँकेको बैजनाथ गाउँपालिका–५ स्थित ईश्वरी माध्यमिक विद्यालयको अतिक्रमित जग्गा खाली गराउने क्रममा प्रहरीमाथि खुकुरी प्रहार भएको छ। अतिक्रमण हटाउन पुगेको प्रहरी टोलीमाथि स्थानीय महिलाले धारिलो हतियार प्रहार गर्दा एक प्रहरी हवल्दार सामान्य घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार प्रहरी हवल्दार सुनिल चौधरीमाथि स्थानीय सावित्रीकुमारी शाहीले खुकुरी प्रहार गरेकी हुन्। घटनापछि प्रहरी टोलीले उनलाई तत्काल नियन्त्रणमा लिएको छ। घाइते प्रहरीको अवस्था सामान्य रहेको जनाइएको छ।

प्रहरीका अनुसार विद्यालयको सरकारी जग्गा लामो समयदेखि अतिक्रमणमा परेको थियो। विद्यालय प्रशासनले पटक–पटक सूचना जारी गरी जग्गा खाली गर्न आग्रह गरे पनि अटेर भएपछि बिहीबार बिहान प्रहरीको सहयोगमा अतिक्रमण हटाउने अभियान सञ्चालन गरिएको थियो। सोही क्रममा विवाद चर्किँदा आक्रमण भएको हो।

अभियानका क्रममा विद्यालयको जग्गामा बनाइएका सात वटा घरटहरा हटाइएको प्रहरीले जनाएको छ। तीमध्ये केही संरचनामा एक दशकभन्दा बढी समयदेखि बसोबास हुँदै आएको बताइएको छ।

बाँके प्रहरीका प्रवक्ता तथा नायब प्रहरी उपरीक्षक प्रतितसिंह राठौरले घटनाको पुष्टि गर्दै आक्रमणमा संलग्न महिलामाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

Exit mobile version