दाङ,२ असार । दाङ र रोल्पामा छायांकन गरिएका दुई चलचित्र दाङमा प्रदर्शन हुने भएका छन् । ब्ल्याक सुल्पा प्रोडक्सन प्रालिले निर्माण गरेको दुई चलचित्र घोराहीको होटेल डोकोको माइक्रो सिनेमामा प्रदर्शन हुने निर्माता तथा निर्देशक विशाल रोका मगरले जानकारी दिएका हुन ।
चलचित्र पत्रकार संघ दाङ शाखाले मंगलबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा निर्देशक मगरले स्थानीय परिवेशलाई कथावस्तु बनाएर चलचित्र निर्माण गरिएको बताएका हुन ।
निर्देशक मगरका अनुसार ‘इहिरी द हन्टर’ र ‘द रिच्युअल’ गरी दुई चलचित्र असार ५ गतेदेखि १२ गतेसम्म प्रदर्शन गरिने छ । दुवै चलचित्र दैनिक बेलुका ५ बजेदेखि ७ बजेसम्म प्रर्दशन गरिने निर्देशक अधिकारीले बताएका हुन ।
उनले स्थानीय सिनेमा संस्कृतिलाई मजवुत बनाउने उद्देश्यले स्थानीय विषयवस्तु र स्थानीय स्रोत सामग्रिको प्रयोग गरी दुई चलचित्र निर्माण गरिएको बताएका हुन । उनले चलचित्रमा अभिनय गर्न इच्छुक स्थानीय कलाकारलाई समेत अवसर प्रदान गरिने समेत बताएका छन ।
चलचित्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष निरला अर्यालले चलचित्रले मनोरन्जन दिनेमात्र नभई समाजको भाषा, कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताएका हुन । उनले प्रालिले चलचित्र निर्माणका लागि स्थानीयलाई अवसर प्रदान गर्न लागेकोमा खुशी व्यक्त गरेका हुन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतले रितिरिवाज र संस्कारले अनुशासनमा बाँध्ने बताएका हुन । उनले दाङको परिवेशमा चलचित्र निर्माण हुनु र प्रदर्शन हुनुमा चलचित्र पत्रकार संघ दाङ शाखाका महत्वपूर्ण भूमिका खेलेको बताएका हुन ।
कार्यक्रममा रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल, पत्रकार दिपक बोहरा, चेतन रेग्मी लगायतले चलचित्र निर्माणको कथावस्तु र छायांकनस्थलका बारेमा जिज्ञासा राखेका थिए । कार्यक्रममा कलाकारहरु उज्जवल अधिकारि र निशा घर्ती मगरले चलचित्र हेर्नका लागि दर्शकलाई आग्रह गरेका थिए ।
संघका प्रमुख सल्लाहकार शरद रेग्मीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सदस्य रुपा थापालेले गरेकि हुन ।
