१६ असार, काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
निगमले बुधबार राति १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा खाना पकाउने एलपी ग्यासको मूल्यमा कमी गरेको जनाएको छ।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेलमा प्रतिलिटर ३० रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँले मूल्य घटाइएको छ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि मूल्य समायोजन गरिएको निगमले जनाएको छ। इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेल २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धन २९ रुपैयाँ ४२ पैसा तथा एलपी ग्यासको मूल्य समेत घटेर आएको निगमको भनाइ छ।
त्यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाडौंका लागि बिक्री मूल्य प्रति किलोलिटर २६५ अमेरिकी डलरले घटाइएको छ। पोखरा र भैरहवाका लागि भने ब्रेकइभेन बिन्दुमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।
निगमले अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार समय–समयमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ।
