दाङ, वि.सं. २०५७ सालमा स्थापना भएको दाङ जिल्ला फोटोग्राफर एसोसिएसन ले लामो समयको प्रतीक्षापछि आफ्नै कार्यालय स्थापना गर्दै औपचारिक रूपमा उद्घाटन गरेको छ। संस्थाको इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको उक्त कार्यालयको उद्घाटन विशेष समारोहका बीच सम्पन्न भएको हो।
नवनिर्मित कार्यालयको उद्घाटन दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल फोटोग्राफर महासंघ लुम्बिनी प्रदेश अध्यक्ष वसन्त जोशीले गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले फोटोग्राफी क्षेत्रको व्यावसायिक विकास, आधुनिक प्रविधिसँगको समायोजन, व्यवसायीबीचको एकता तथा संस्थागत सुदृढीकरणमा जोड दिनुभयो।
उहाँले नयाँ कार्यालयले जिल्लाका फोटोग्राफरहरूलाई एकताबद्ध गर्दै सीपमूलक तालिम, अन्तरक्रिया, छलफल तथा विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा दाङ जिल्ला फोटोग्राफर एसोसिएसन तुलसीपुर शाखाका अध्यक्ष मिनराज ओली, देउखुरी शाखाका अध्यक्ष कृष्ण पन्थी, नेपाल फोटोग्राफर महासंघका केन्द्रीय उपाध्यक्ष, केन्द्रीय सदस्यहरू तथा दाङ जिल्लाका पूर्व अध्यक्षहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले संस्थाको विकास, फोटोग्राफी व्यवसायको वर्तमान अवस्था तथा आगामी योजनाबारे आ–आफ्ना धारणा राखेका थिए।
पूर्व अध्यक्षहरूले आफ्नो कार्यकालका अनुभव स्मरण गर्दै संस्थाको स्थापना र विकासका विभिन्न चरणबारे चर्चा गरे। उनीहरूले संस्थालाई अझ सशक्त, सक्रिय र प्रभावकारी बनाउन सबै सदस्य एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। साथै, नयाँ पुस्ताका फोटोग्राफरहरूलाई व्यवसायप्रति जिम्मेवार, सिर्जनशील र प्रविधिमैत्री बन्न आग्रह गरे।
कार्यक्रमका वक्ताहरूले आफ्नै कार्यालय स्थापना हुनु संस्थाका लागि गौरवको विषय भएको उल्लेख गर्दै यसले फोटोग्राफरहरूको हकहित संरक्षण, व्यावसायिक विकास, सीप अभिवृद्धि तथा आपसी सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रमको समापनमा आयोजक संस्थाले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने अतिथिहरू, पूर्व अध्यक्षहरू, पदाधिकारीहरू, सदस्यहरू, सञ्चारकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको थियो। साथै, आगामी दिनमा संस्थालाई अझ प्रभावकारी, सशक्त र व्यावसायिक बनाउँदै लैजाने प्रतिबद्धता समेत जनाएको छ।
