दाङ, दाङको तुलसीपुर उपमहानगरपालिका–६ गाइडर क्षेत्रमा आज बिहान सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार आज बिहान करिब ११ः१५ बजे गाइडरबाट महेन्द्र माध्यमिक विद्यालयतर्फ जाँदै गरेको लु प्र ०२–००२४–२२०३ नम्बरको स्कुटीलाई विपरीत दिशाबाट आएको बा प्र ०१–००६ ख ४२१३ नम्बरको टिप्परले ठक्कर दिएको हो।
दुर्घटनामा स्कुटी चालक तुलसीपुर उपमहानगरपालिका–१५ निवासी राजु परियार घाइते भएका छन्। उनको दुवै हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। यस्तै स्कुटीमा सवार सोही स्थानका शिशिर परियार पनि घाइते भएका छन्।
घाइते दुवै जनाको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
