कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख एवं नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन्।
६५ वर्षीय सिंहको शव आइतबार तौलिहवा–गोरुसिंगे सडक खण्डअन्तर्गत बुद्धभूमि नगरपालिकामा पर्ने ढेकरी (तिलौराकोट सामुदायिक) जंगलमा भेटिएको प्रहरीले जनाएको छ।
उनी हराएको स्थानदेखि करिब ६–७ सय मिटर उत्तरतर्फ शव फेला परेको हो।शुक्रबार दिउँसो करिब २ बजे घरबाट निस्किएका सिंहले डेढ घण्टापछि आफू निकटका व्यक्तिलाई फोन गरी ‘जंगलमा बाटो बिर्सिएँ’ भन्दै जानकारी गराएका थिए।
त्यसपछि उनी सम्पर्कविहीन बनेका थिए।प्रहरी र स्थानीयको संयुक्त टोलीले खोजी गर्ने क्रममा पूर्व-पश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र उनले प्रयोग गर्ने (लु प्र ०१०१३ प ७९७०) नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा फेला परेको थियो।
खोजीका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ‘के-नाइन’ शाखाबाट तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरिएको थियो।कपिलवस्तु नगरपालिका वडा नं. ३, ढेवानगढीया निवासी सिंह २०५४ सालमा नगर उपप्रमुख र २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट नगरप्रमुखमा निर्वाचित भएका थिए। २०७९ को निर्वाचनमा भने उनी पराजित भएका थिए। घटनाको प्रकृति र मृत्युको कारणबारे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।
