दाङका दीपक काफ्लेले पटक–पटकको व्यावसायिक असफलता र आर्थिक अभावका बाबजुद निरन्तर संघर्ष गर्दै ‘रानी केक’लाई पश्चिम नेपालकै सफल ब्रान्डका रूपमा स्थापित गरेका छन्।
१६ वर्षको उमेरमै दाङबाट काठमाडौं पुगेका काफ्लेले चिया–नास्ता पसलदेखि कपडा व्यवसायसम्म गरे। त्यसपछि कतारमा मजदुरीसमेत गरे। नेपाल फर्किएपछि मःम पसल सञ्चालन गरे पनि उनले गरेका अधिकांश व्यवसायमा सफलता हात लागेन। तर, निरन्तर प्रयास र संघर्ष भने उनले छाडेनन्।
कतार बसाइका क्रममा व्यवसाय व्यवस्थापनसम्बन्धी ज्ञान हासिल गरेका काफ्लेले २०७७ सालमा दाङबाट ‘रानी केक’को सुरुवात गरे। निरन्तर मेहनत र गुणस्तरीय उत्पादनका कारण रानी केक विस्तार हुँदै अहिले पश्चिम नेपालकै चर्चित ब्रान्डका रूपमा स्थापित भएको छ।
हाल रानी केकले पाँच लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। कम्पनीको वार्षिक कारोबार तीन करोड रुपैयाँभन्दा बढी रहेको छ भने विभिन्न शाखा तथा व्यवसायिक गतिविधिमार्फत ६० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ।
रानी केकले व्यवसायसँगै युवाहरूलाई बेकरीसम्बन्धी सीपमूलक तालिमसमेत प्रदान गर्दै आएको छ। यसले रोजगारी सिर्जना गर्नुका साथै युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्न योगदान पुर्याइरहेको छ।
काफ्लेको यही संघर्ष, उद्यमशीलता र सफलताको यात्रालाई मूल्याङ्कन गर्दै अनलाइनखबरले गरेको सर्वेक्षणमा उनलाई देशभरका प्रभावशाली ४० युवाको सूचीमा छनोट गरी सम्मान गरेको छ।
एकपछि अर्को व्यवसायमा असफलता भोगे पनि हार नमान्ने दीपक काफ्लेको यात्रा अहिले सफल उद्यमको प्रेरणादायी उदाहरण बनेको छ। असफलताबाट सिक्दै निरन्तर अघि बढे सफलता सम्भव छ भन्ने उदाहरण बनेको छ—‘रानी केक’।
