Site icon Orange Khabar – News Portal

सक्सेस एकाडेमीद्वारा मन्दिर सरसफाइसँगै , उपयोगी सामग्री वितरण

तुलसीपुर, १८ दाङ । विद्यार्थीलाई केवल पाठ्यपुस्तकको ज्ञानमा सीमित नराखी सामाजिक उत्तरदायित्व, सरसफाइ र सेवाभावको संस्कार सिकाउने उद्देश्यले सक्सेस एकाडेमीले मन्दिर सरसफाइ तथा उपयोगी सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।

तुलसीपुर–९, थर्कुडाँडास्थित शिव मन्दिरमा कक्षा ७ का विद्यार्थीहरूले सरसफाइ अभियान सञ्चालन गर्नुका साथै मन्दिरका लागि आवश्यक कुर्सी वितरण गरेका छन्। विद्यार्थीहरूले मन्दिर परिसरमा रहेको फोहोर व्यवस्थापन गर्दै धार्मिक स्थलको स्वच्छता र संरक्षणमा समेत योगदान दिएका हुन्।

त्यसैगरी, तुलसीपुर–८ स्थित कृष्ण मन्दिरमा कक्षा १ का विद्यार्थीहरूले मन्दिर दर्शनसँगै फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरण गरेका छन्। सानै उमेरदेखि सरसफाइ, अनुशासन, सामाजिक जिम्मेवारी र सेवाभावको विकास गराउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरेको विद्यालयले जनाएको छ।

कार्यक्रममा बोल्दै शिव मन्दिरका अध्यक्ष विनोद अधिकारीले विद्यालयले धार्मिक तथा सामाजिक क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै विद्यालय परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीलाई व्यवहारिक रूपमा सामाजिक सेवासँग जोड्ने यस्ता कार्यक्रमले सकारात्मक संस्कार निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

त्यस्तै, विद्यालयका अध्यक्ष ललितजंग शाहले विद्यार्थीको सिकाइलाई कक्षाकोठाभन्दा बाहिर समुदायसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रम निकै सराहनीय रहेको बताउनुभयो। उहाँले विद्यार्थीमा सरसफाइप्रतिको चेतना, सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावना विकास गराउन विद्यालय निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

सक्सेस एकाडेमीको यो पहलले ‘पढाइसँगै संस्कार र सेवाभाव’ भन्ने सन्देश दिएको छ। साना हातहरूले गरेको सरसफाइ र सहयोगका यी प्रयासले धार्मिक स्थललाई स्वच्छ बनाउनुका साथै विद्यार्थीमा सामाजिक जिम्मेवारीको बलियो भावना विकास गर्ने अपेक्षा गरिएको छ।

Exit mobile version