Site icon Orange Khabar – News Portal

त्रिशूली ३ ‘ए’को सुरुङभित्र १० दिनपछि सञ्जय साहको जीवितै उद्धार: अन्यलाई पनि बचाउने आशा पलायो

भोटेकोसी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ए जलविद्युत् आयोजनाको सुरुङमा थुनिएको दसौँ दिन आज शुक्रबार उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहले घटनाका दिन ४५ जनासम्म रहेको बताएका छन्।

उद्धारपछि काठमाडौँ ल्याएर अस्पतालमा भर्ना गरिएका साहले संक्षिप्त प्रतिक्रिया दिँदै बाढी आएको दिन ४०-४५ जना रहेको जानकारी दिएका हुन्।

‘म कन्ट्रोल रुममा अपरेटरको काम गर्थेँ। अरू टाइमा ५/६ जना मात्रै हुन्थ्यौँ।  यतिबेला ४०/४५ जनै थियौँ’, उनले भने, ‘म कन्ट्रोल रुममा भएपछि सबैको ज्यान बचाउनु मेरो जिम्मेवारी थियो। त्यस्तो दुर्घटना भएपछि म एक्लै भागेर भएन। सबैलाई बचाउनुपर्‍यो। सबैलाई बचाउने क्रममा मैले भनेँ- एक्सिडेन्ट भयो ठुलो ड्याममा। अनि सबैलाई भाग्न भनेँ। त्यसो गर्दाखेरि मेरो टाइम गयो। लास्टमा म निस्किन पाएन।’

उनका अनुसार पावर हाउसभित्र धेरै मानिस फसेको हुन सक्छ।

उनले भने, ‘भाग्न नसकेको होला। टनेल लामो छ। पानीको फोर्सले भित्र लगिसकेको होला।’

यही भदौ १० गते रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि माथिल्लो त्रिशूली-३ ए जलविद्युत् आयोजनाको सुरुङमै थुनिएका मेकानिकल फोरम्यान साहसहित आज मेकानिकल सुपरभाइजर कविर महर्जनको पनि उद्धार गरिएको छ।

अन्यको खोजी जारी छ।

Exit mobile version