Site icon Orange Khabar – News Portal

बाढीमा बेपत्ता बाबु-छोराको तीन सातासम्म पत्ता नलागेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै

दाङ, ४ असोज । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि बेपत्ता भएका दाङका बाबु-छोराको तीन साता बितिसक्दा समेत कुनै अत्तोपत्तो नभएपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गर्ने भएका छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३, दमार गाउँ निवासी गोपीलाल रोका र उनका छोरा लालबहादुर रोकाको आइतबार शितलपुर आर्यघाटमा सनातन हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गर्न लागिएको हो।

तीन साताअघि भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका उनीहरूको खोजीका लागि सुरक्षा निकाय र स्थानीय प्रशासनले प्रयास गरे पनि भेट्टाउन सकिएको थिएन। लामो समयसम्म खोजी गर्दा पनि फेला नपरेपछि र जीवनको कुनै सम्भावना नरहेको निष्कर्षमा पुगेपछि परिवारजनले धार्मिक विधिपूर्वक कुशको पुतला (शव) बनाएर अन्त्येष्टि गर्ने निर्णय लिएका हुन्।

हिन्दू संस्कार अनुसार बेपत्ता व्यक्ति लामो समयसम्म फेला नपरेमा कुशको पुतला बनाएर दाहसंस्कार गर्ने परम्परा छ। बाबु-छोराको एकैपटक यस्तो अवस्थामा अन्त्येष्टि गर्नुपर्दा दमार गाउँ शोकमा डुबेको छ।

Exit mobile version