Site icon Orange Khabar – News Portal

लेटाङमा मोटरसाइकल दुर्घटना: झापाका दुई युवाको मृत्यु, एकजना घाइते

विराटनगर, १७ असोज ।

मोरङको लेटाङ नगरपालिका–९ हात्तीचोकस्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

असोज १६ गते राति १०:३५ बजे जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे ४ प ७४६ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर मोटरसाइकल चालक झापाको घेराबारी बस्ने २७ वर्षीय कुमार नेपाली, पछाडि सवार सोही ठाउँका २५ वर्षीय सन्देश नेपाली र मोरङको पथरीशनिश्चरे नगरपालिका–८ का ३२ वर्षीय अमर नेपाली गम्भीर घाइते भएका थिए।

घाइतेहरूलाई उद्धार गरी तत्काल उपचारका लागि मदन भण्डारी ट्रमा सेन्टर, मङ्गलबारे र न्युरो अस्पताल, विराटनगर पठाइएको थियो। उपचारका क्रममा मदन भण्डारी ट्रमा सेन्टरमा लगिएका चालक कुमार नेपालीको राति १२:०० बजे र न्युरो अस्पतालमा उपचाररत सन्देश नेपालीको असोज १७ गते १२:०४ बजे मृत्यु भएको चिकित्सकले घोषणा गरेका हुन्।

दुर्घटनामा घाइते भएका पथरीशनिश्चरे–८ का ३२ वर्षीय अमर नेपालीको भने न्युरो अस्पताल, विराटनगरमा उपचार जारी रहेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।

Exit mobile version