Site icon Orange Khabar – News Portal

टरिगाउँ विमानस्थल सञ्चालनमा नयाँ आशा विमानस्थल सिधै ६ सय मिटर विस्तार हुने सम्भावना:

दाङ, २१ असोज — दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित ऐतिहासिक टरिगाउँ विमानस्थलको धावनमार्ग सिधै ६ सय मिटरसम्म विस्तार गर्न सकिने प्रारम्भिक सम्भावना देखिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्य र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक मुकेश डंगोलसहितको उच्चस्तरीय टोलीले बुधबार विमानस्थलको स्थलगत निरीक्षण गर्दै सो कुरा बताएको हो।

निरीक्षणपश्चात् पत्रकारहरूसँग कुराकानी गर्दै पर्यटनमन्त्री पौडेलले यसअघि प्राविधिक अध्ययनका क्रममा धावनमार्गलाई ‘टिल्ट’ (मोड्नुपर्ने) गर्ने चर्चा चले पनि प्रत्यक्ष अवलोकन गर्दा सिधै विस्तार गर्न सकिने स्पष्ट आधार देखिएको बताउनुभयो।

“यो विमानस्थल अब जसरी पनि विस्तार हुन्छ,” महामन्त्री आचार्यको गृहनगर र क्षेत्रलाई लक्षित गर्दै मन्त्री पौडेलले थप्नुभयो, “महामन्त्रीज्यूको आफ्नै जिल्लाको विमानस्थल नबनी हुन्छ र?”

रास्वपाका महामन्त्री एवम् दाङ क्षेत्र नं. २ का सांसद विपिन आचार्यले विमानस्थल विस्तारको पहल कुनै व्यक्तिगत प्रचार वा चुनावी एजेन्डाका लागि नभएको प्रष्ट पार्नुभयो। टरिगाउँ विमानस्थल सञ्चालनमा आउँदा दाङसहित आसपासका सल्यान, रोल्पा, र प्युठानलगायतका जिल्लाका करिब १७ देखि १८ लाख नागरिक प्रत्यक्षरूपमा लाभान्वित हुने भएकाले सरकारले यसलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उहाँको भनाइ थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले जतिसक्दो कम लागत र छिटो छरितो ढंगबाट धावनमार्ग विस्तार गर्ने गरी आवश्यक प्राविधिक गृहकार्य र सम्भाव्यता अध्ययन तीव्र पारिएको जानकारी दिनुभयो।

२०११ सालमा स्थापना भएको नेपालकै दोस्रो पुरानो मानिने टरिगाउँ विमानस्थलको धावनमार्ग हाल ७५० मिटर मात्रै छ। धावनमार्ग सानो भएकै कारण ठूला जहाज अवतरण हुन नसक्दा यहाँको हवाई सेवा लामो समयदेखि अनियमित र खर्चिलो बन्दै आएको छ। हालै सरकारले यसको विस्तारका लागि चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। मन्त्री पौडेलसहितको टोलीको यो प्रतिबद्धतापछि दशकौँदेखि विमानस्थल विस्तारको पखाईमा रहेका दाङवासीमा पुन: नयाँ आशा पलाएको छ।

Exit mobile version