दाङ, तुलसीपुर। दाङको तुलसीपुरमा पछिल्लो समय मोटरसाइकल चोरीका घटना दोहोरिन थालेपछि सवारीसाधन धनीहरूमा चिन्ता बढेको छ। बजारको व्यस्त क्षेत्रमै पार्किङ गरेर राखिएका मोटरसाइकल चोरी हुन थालेपछि प्रहरी प्रशासनसमक्ष सुरक्षा चुनौती थपिएको छ।
केही दिनअघि मात्रै तुलसीपुरस्थित पुकार पसल नजिकैबाट रा ८ प ९४३ नम्बर को पल्सर १५० मोटरसाइकल चोरी भएको थियो । उक्त घटना सेलाउन नपाउँदै आज फेरि तुलसीपुरको व्यस्त क्षेत्र बीपी चोकबाट पार्किङ गरेर राखिएको रा. ६ प. ८५५९ नम्बरको एनएस मोटरसाइकल चोरी भएको छ।
बजार क्षेत्रमा पार्किङ गरिएका सवारीसाधन चोरी हुन थालेपछि स्थानीय तथा सवारीधनीहरूमा असुरक्षाको भावना बढ्दै गएको छ। बजार क्षेत्रमै यस्ता घटना दोहोरिनुले सवारीसाधनको सुरक्षा व्यवस्था र प्रहरी निगरानीमाथि समेत प्रश्न उठाएको छ।
मोटरसाइकल चोरीका घटना नियन्त्रण गर्न सम्बन्धित प्रहरी निकायले बजार क्षेत्रको निगरानी बढाउन, सम्भावित स्थानका सीसीटीभी फुटेज जाँच गर्न तथा चोरीमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही अघि बढाउन आवश्यक देखिएको छ।
सवारीसाधन चोरीका घटना बढ्दै जाँदा तुलसीपुरको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारीमा रहेको प्रहरी प्रशासनलाई थप चुनौती सिर्जना भएको छ। यस्ता घटनाको प्रभावकारी अनुसन्धान र नियन्त्रणका लागि सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने देखिन्छ।
सवारीधनीलाई आग्रह: मोटरसाइकल पार्किङ गर्दा सुरक्षित स्थान छनोट गर्नुहोस्, ह्यान्डल लक गर्नुका साथै सम्भव भए अतिरिक्त सुरक्षा उपकरण प्रयोग गर्नुहोस्। कुनै शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनुहोस्।
