शान्ति प्रक्रिया  टुङ्ग्याउन सबै दलबीच सहकार्य आवश्यक : मन्त्री शर्मा
1 min read

शान्ति प्रक्रिया टुङ्ग्याउन सबै दलबीच सहकार्य आवश्यक : मन्त्री शर्मा

दाङ :  सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउन सबै दलबीच सहकार्य आवश्यक रहेको बताइन् ।  घोराही उपमहानगरपालिका ११ जीतपुरस्थि सहिद परिवारसँगको भेटघाटमा उनले शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउन सबै दलहरूबीच सहकार्य हुने धारणा राखिन ।

 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमणको समयमा सबै दलले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन जाहेर गरेको प्रतिबद्धताले पनि अब शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने सम्भावना बढेको औँल्याउँदै मन्त्री शर्माले महासचिव गुटेरेसले संघीय संसद्‌मा राखेको धारणा मुलुकका लागि महत्त्वपूर्ण रहेको बताइन् ।सरकारले सत्य निरुपण तथा मेल मिलाप आयोग मार्फत शान्ति प्रकृयाका बाँकी काम टुङ्गोमा पुर्‍याउने तयारी भइरहेको बताउँदै शान्ति प्रकृयाको कामलाई पूर्णता दिन सम्पूर्ण दलहरू  एकमत हुनेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरिन् ।

अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रकृयाका बाकी कामलाई  नजिकबाट हेरिरहेको धारणा राख्दै मन्त्री शर्माले यो विषयलाई छिटोभन्दा छिटो हल गरि नेपाललाई स्थायी शान्ति दिनुपर्नेमा जोड दिइन् ।नेपाल सरकारका प्रवक्ता समेत रहेकी शर्माले सरकारले पहिलोपटक सहिदको नाम राजपत्रमा प्रकाशन गर्ने र फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउनु सहिद प्रतिको सच्चा सम्मान भएको धारणा राखिन ।

राजपत्रमा प्रकाशित हुन छुटेका सहिदहरूको नाम थप्ने विषयमा सरकारले काम गरिरहेको जानकारी दिँदै  उनले सबै दलको सहमतिमा द्वन्द्व पीडितलाई न्याय दिने  बताइन् । भेटमा सहिद परिवारले गाउँको बाटो घाटो र खानेपानीको समस्या हल गर्न मन्त्री शर्मालाई  आग्रह गरेका थिए । उनीहरूले सहिदका सपना पूरा गर्न जनयुद्धकालीन शक्तिहरू एक भएर अघि बढ्नुपर्ने र त्यसका लागि माओवादी केन्द्रले पहल गर्नुपर्ने धारणा राखेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *