१० बर्ष भयो पोल गाडेको तर बत्ती आयन
1 min read

१० बर्ष भयो पोल गाडेको तर बत्ती आयन

दाङ : शान्तिनगर गाउँपालिका ७ दुबीचौरकी अनिता चौधरीलाई घरमा बत्ती झलमल हेर्न खुबै इच्छा छ । तर, उनको इच्छा अहिलेसम्म पुगेको छैन् । गाउँका अन्य घरमा विद्युत भएयता पनि अनितासँगै अन्य ४ घरमा अहिलेसम्म बत्ती पुगेको छैन् । बत्ती आउने आशमा बसेको १० बर्ष भएको भन्दै उनले अब आश पनि मरिसकेको बताइन् । उनले भनिन्,‘ गाउँमा सबैका घरमा विद्युत पुगेको छ । तर, मेरो घरसहित अन्य ४ घरमा अहिलेसम्म बत्ती आएको छैन् । हामीले बारम्बार यसका लागि पहल गर्दै आइरहेको भएयता पनि अहिलेसम्म सुनुवाइ भएको छैन् । घर अगाडि पोल गाडेको १० बर्ष भयो । अहिलेसम्म हाम्रो कुरा कसैले सुनेन् ।’ उनका अनुसार अहिले चार्ज वाला बत्ती आफूहरुले प्रयोग गर्दै आइरहेको र त्यो पनि चार्ज गर्न अर्कैको घरमा लैजानु पर्छ । उनले आफूहरुलाई सबैले हेला गरेको गुनासो गरिन् ।

उनले थपिन्,‘ चुनावको बेला नेताहरु भोट माग्न आउँदा आज नै बत्ती ल्याइदिने जस्तो गरेपछि जितेपछि वेवास्ता गर्ने गरेका छन् । हामीलाई नेताहरुले भोटको लागि मात्र प्रयोग गर्छन् । हाम्रा कुरा कसैले सुन्दैनन्, यदि सुनेको भए पोल गाडेको १० बर्ष हुँदा पनि हामीले बत्ती बाल्न पाएका छैनौँ ।’ विद्युत प्रयोग गर्न नपाउँदा आफूले धेरै समस्या भोग्दै आएको उनको भनाइ छ । यस्तै घरमा विद्युत नहुँदा निकै समस्या भोग्दै आइरहेको अर्की स्थानीय भगवती चौधरीले गुनासो गरिन् । उनले पनि चुनावको बेला भोट माग्न आउँदा विद्युत आउँछ, भनेर नेताहरू आउने भएयता पनि अहिलेसम्म विद्युत नआउँदा आफूहरूलाई झुक्याउने गरेको आरोप लगाइन् । उनले भनिन्,‘ हामी अध्यारोमा बस्नुको पीडा कस्तो छ, भन्ने हामीलाई मात्र थाहा छ । तर, हामी पाँच घरलाई सबैले हेला गरेका छन् । हामी चुनावको बेलामात्र काम लाग्ने रहेछौँ । करिब २ सय मिटर दुरीमा बत्ती आएको छ । तर, हाम्रो घर अगाडि पोल गाडेको बर्षाै हुँदा समेत अहिलेसम्म बत्ती आएन् ।’

यस्तै आफूहरुले अहिले चार्ज गर्ने बत्तीहरू प्रयोग गर्दै आइरहेको भएयता बत्ती चार्ज गर्न छिमेकीको घर लैजाँदा नराम्रो भन्ने गरेको बताइन् । उनका अनुसार छिमेकीहरुले घरमा बत्ती जोड्न सक्दैनौँ, भनेर बचन लगाउन गर्दछन् । हाम्रो तागत र क्षमताले भ्याएको भए हामी पहिले नै बत्ती जोड्ने दियौँ, यसरी सबैलाई हारगुहार गर्नु पर्ने थिएन्, होला भन्दै उनले गुनासो पोखिन् । उनले चार्ज गरेको बत्तीले धेरै उज्यालो नदिने हुँदा रातको समयमा निकै समस्या हुने गरेको बताइन् । उनले भनिन्,‘ अब बर्खा शुरु हुन लागेको छ । हामी जुनकीरी जस्तो बत्तीले रात बिताउनु पर्छ । बर्खाका किराकाटीको धेरै डर हुन्छ । तर, के गर्नु नेताहरुले हामीले चुनावमा गरेका बाचा पुरा नगर्दा समस्या भोग्नु परेको छ ।’

यस्तै अर्की स्थानीय पुजा चौधरीले घरमा बत्ती नहुँदा विद्यालयमा गएको बेला मोबाइल र बत्ती चार्ज गर्ने गरेकाबताइन् । उनका अनुसार चुनावमा भोट माग्न आउँदा तपाईँहरूले घरको वाइरिङ गर्नुहोस्, विद्युत आउँछ , भन्ने गरेको भएयता पनि अहिलेसम्म विद्युत नआउँदा धेरै समस्या भोग्नु परेको छ । उनले भनिन्,‘ हामी ५/ ६ घरलाई राज्यले सौतेनी व्यवहार गरेको छ । गाउँका सबै ठाउँमा बिद्युत पुग्दा हामीले अहिलेसम्म प्रयोग गर्न पाएका छैनौँ । धेरै खर्च पनि लाग्दैन्, होला । ३ / ४ वटा पोल मात्र छ, विद्युत ल्याउनको लागि तर, हामीलाई कसैले ध्यान दिएको छैनै ।’ यस्तै पोल गाडेको १० वर्ष हुँदासम्म यहाँका ५/ ६ घरले बत्ती बाल्न नपाउनु निकै दुखको कुरा रहेको स्थानीय कृष्ण बहादुर खड्काले बताए।

उनले पोल गाडेका १० वर्ष हुँदा पनि पहुँच नहुनेको काम नहुने भन्ने कुरा यसले स्पष्ट पारेको समेत बताए । यस्तै उनले यहाँको समस्याको बारेमा वडा कार्यालय, गाउँपालिकामा जानकारी गराउँदै आएको भएयता पनि अहिलेसम्म सुनुवाइ नभएको बताए । उनले भने,‘ कस्ता कस्ता विकट ठाउँहरु विद्युत पुगेको छ । तर, सुगम ठाउँ मानिने यस ठाउँका नागरिकले अहिलेसम्म विद्युत प्रयोग गर्न नपाउँनु निकै दुखको हो ? यसमा गाउँपालिकाले समय मै ध्यान दिनुपर्छ । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *