लुम्बिनी स्मार्ट स्कुलका विद्यार्थीलाई विपद् व्यवस्थापन र प्राथमिक उपचारसम्बन्धी व्यावहारिक तालिम
तुलसीपुरस्थित लुम्बिनी स्मार्ट स्कुलका विद्यार्थीहरूले विपद् व्यवस्थापन तथा प्राथमिक उपचारसम्बन्धी महत्त्वपूर्ण जीवनोपयोगी सीप सिक्ने अवसर पाएका छन्। लुम्बिनी प्रदेश विपद् व्यवस्थापन समितिको आयोजनामा आज स्कुल परिसरमै जनचेतनामूलक तथा व्यावहारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा विद्यार्थीहरूलाई दैनिक जीवनमा आइपर्ने विभिन्न विपद् र आपत्कालीन अवस्थाबाट कसरी जोगिने भन्ने विषयमा व्यावहारिक ज्ञान दिइएको थियो। विशेषगरी खाना घाँटीमा अड्किँदा गर्नुपर्ने तत्काल उपचार (फर्स्ट एड), घर वा वरपर आगलागी हुँदा कसरी सुरक्षित रूपमा बाहिर निस्कने, आगोले पोलेमा अपनाउनुपर्ने प्राथमिक उपचारका उपायहरू र आपत्कालीन अवस्थामा स्थानीय स्रोतसाधनको प्रयोग गरी स्ट्रेचर बनाउने तरिकाहरू विद्यार्थीहरूलाई प्रत्यक्ष अभ्यास गराएर सिकाइएको थियो।

अचानक आइपर्ने विपद् वा दुर्घटनाका बेला अत्तालिनुको सट्टा धैर्यतापूर्वक कसरी आफ्नो र अरूको ज्यान जोगाउन सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
विद्यालयका विद्यार्थीहरूले यस्ता व्यावहारिक र जीवनोपयोगी सीपहरू प्रत्यक्ष रूपमा सिक्न पाउँदा खुसी व्यक्त गर्दै आपत्कालीन समयमा यी सीपहरू अत्यन्तै उपयोगी हुने बताएका छन्। कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा विपद् व्यवस्थापन समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।\

