नेसनल प्याब्सन दाङको सातौँ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा भण्डारी निर्वाचित ।
1 min read

नेसनल प्याब्सन दाङको सातौँ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा भण्डारी निर्वाचित ।

आशिष केसी
तुलसीपुर, २२ भदौ ।।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) दाङ जिल्ला कार्य समितिको सातौँ जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । दाङको तुलसीपुरमा सम्पन्न अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गरेको छ ।
नेसनल प्याब्सन दाङका जिल्ला अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा केन्द्रीय महासचिव प्रकाशचन्द्र खड्काको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेसनल प्याब्सनका केन्द्रीय महासचिव प्रकाशचन्द्र खड्काले निजी विद्यालयहरूले नेपालको शैक्षिक रूपान्तरणमा पुर्याएको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले सङ्गठनमा केही टुटफुट भएर संस्था कमजोर भएको छ भन्ने भ्रममा कोही पनि नपर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो एकता र जग अझै पनि उत्तिकै बलियो छ ।” राज्यको समग्र विकासका लागि स्वास्थ्य र शिक्षा जस्ता आधारभूत क्षेत्रलाई सरकारले सधैँ पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै नेपालको शैक्षिक रूपान्तरणमा निजी क्षेत्रको योगदानलाई नजरअन्दाज गर्न नसकिने जिकिर गर्नुभयो ।
अधिवेशनको अवसरमा उपस्थित विभिन्न क्षेत्रका अग्रणी व्यक्तित्वहरूले नयाँ कार्यसमितिको सफलता र शिक्षा क्षेत्रको सुधारका लागि महत्त्वपूर्ण सुझावसहित शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष प्रकाश कुमार शर्माले शिक्षा क्षेत्रमा निजी क्षेत्रले पुर्याएको योगदानको चर्चा गर्दै नेपालको साक्षरता दर बढाउन, दक्ष जनशक्ति उत्पादन गर्न र शिक्षाका नाममा अर्बौँ नेपाली पुँजी विदेशिनबाट रोक्न निजी विद्यालयहरूले अग्रपङ्क्तिमा रहेर ऐतिहासिक भूमिका खेलिरहेको उल्लेख गर्नुभयो ।
प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेले प्याब्सन र नेसनल प्याब्सन सहोदर संस्था जस्तै भएको उल्लेख गर्दै संस्थागत विद्यालयको मुद्दा र हकहितका लागि दुवै संस्था सधैँ एक ठाउँमा उभिने विश्वास दिलाउनुभयो ।
शिक्षा विकास तथा समन्वय ईकाई दाङका प्रमुख धन बहादुर ओलीले सरकारी र निजी क्षेत्रको सहकार्य बिना शैक्षिक उद्देश्य हासिल हुन नसक्ने भन्दै निजी विद्यालयको अनुगमन र नियमनलाई रचनात्मक बनाइने उल्लेख गर्नुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर १८ का अध्यक्ष माधव ओलीले स्थानीय सरकार निजी विद्यालयका न्यायोचित मागहरू सम्बोधन गर्न र स्थानीय पाठ्यक्रम निर्माणमा सँगै सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो । सामुदायिक तथा संस्थागत विद्यालयको योगदानको चर्चा गर्दै आगामी दिनमा अझ प्रभावकारी र गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।
तेक्वान्डो सङ्घ लुम्बिनी प्रदेश अध्यक्ष बिमल रिजालले निजी विद्यालयले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै विद्यार्थीहरूको बौद्धिक विकाससँगै शारीरिक र मानसिक विकासका लागि विद्यालय तहदेखि नै खेलकुद र अतिरिक्त क्रियाकलापलाई अनिवार्य बनाउनुपर्नेमा जोड दिनुभयो ।
तुलसीपुर उद्योग वाणीज्य सङ्घका अध्यक्ष विनिल केसीले निजी विद्यालयहरू पनि अर्थतन्त्र र रोजगारी सिर्जनाका महत्त्वपूर्ण खम्बा भएको बताउँदै उद्योग वाणिज्य सङ्घ शैक्षिक क्षेत्रको व्यावसायिक सुरक्षाका लागि लागिपर्ने बताउनुभयो ।
कार्यक्रममा अडिटर एसोसिएसन संघ दाङका अध्यक्ष ललित बहादुर घर्ती, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी, शैक्षिक अभियन्ता हिमाल डाँगी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमका अध्यक्ष न्यौपानेले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्ने सबैमा आभार प्रकट गर्दै चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि दाङमा नेशनल प्याब्सन आवद्ध विद्यालयहरूले शिक्षाको विकासका लागी महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो । संस्थागत सुदृढीकरण र सदस्य विद्यालयहरूबीचको एकता नै मुख्य शक्ति भएको उहाँले बताउनुभयो । निजी विद्यालयहरू समाजका लागी जुनसुकै परिस्थितिमा पनि अग्र स्थानमा रहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा विभिन्न विद्यालयका छात्राहरूले सन्देशमूलक सांस्कृतिक प्रस्तुति राखेका थिए । कार्यक्रममा लक्ष्य एकेडेमी तुलसीपुर, डिभाइन मन्टेश्वरी तुलसीपुर र गुरुकुल एकेडेमी तुलसीपुरका छात्राहरूले उत्कृष्ट सांगीतिक तथा चेतनामूलक नृत्यहरू प्रस्तुत गरेका थिए ।
सोही अवसरमा संस्थाले समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने चारजना व्यक्ति तथा संस्थाहरूलाई विशेष सम्मान गरेको छ । पत्रकारिताको क्षेत्रबाट पत्रकार आशिष केसी सम्मानित हुनुभएको छ । यसैगरी व्यावसायिक क्षेत्रबाट अल्पाइन युनिफर्म तुलसीपुरका नोबेल डिसी, राम जानकी पुस्तक भण्डारका चुडामणि अर्याल र हाम्रो गार्मेन्ट प्रालिलाई सम्मान–पत्रद्वारा सम्मानित गरिएको हो ।
यसका साथै कार्यक्रममा प्रेस युनियन दाङको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान ज्ञापन गरिएको थियो भने नेशनल प्याब्सन दाङमा आवद्ध रही शिक्षा क्षेत्रमा अनवरत सेवा पुर्याउँदै आएका २२ वटा सदस्य विद्यालयहरूलाई समेत कदर–पत्र प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण सचिव हरी प्रसाद भण्डारीले गर्नुभएको थियो ।
यसैबीच भव्य रूपमा सम्पन्न यस सातौँ जिल्ला अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि १० सदस्यीय कुशल र नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *