सल्यानमा मृत भेटिएका आमाछोरीको पुर्व प्रेमीले हत्या गरेको खुलासा
1 min read

सल्यानमा मृत भेटिएका आमाछोरीको पुर्व प्रेमीले हत्या गरेको खुलासा

असोज ४।

सल्यानमा घरभित्रै जलेको अवस्थामा मृत भेटिएका आमाछोरीको हत्या भएको खुलेको छ । प्रहरीका अनुसार उनीहरुलाई पुर्व प्रेमी कर्ण बहादुर बस्नेतले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको हो । सल्यानकै सिद्ध कुमाख गाउँपालिका २ खानीगाउँका २८ वर्षीय बस्नेतलाई घटना भएको ५ दिन पछी प्रहरीले पक्राउ गरी आज बिहिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । गत भदौ ३० गते त्रिवेणी गाउँपालिका २ झालेढुंगा निवासी २९ वर्षीया रेवती थापा र उहाकी ९ महिनाकी छोरी ऋतु थापा जलेको अवस्थामा मृत भेटिएका थिए । रेवतीलाई सलले घाँटीमा बेरेर अर्ध वेहोस बनाई कोठामा आगो लागेर मृत्यु भएको भन्ने देखाउनका लागी शरीरमा पेट्रोल छर्किएर आगजनी गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवम् डीएसपी नविन कार्कीले जानकारी दिनुभएको छ ।

हत्या आरोपित बस्नेत र मृतक थापा बिच विगत ७ वर्ष पहिले सामाजिक सञ्जाल मार्फत चिनजान भएको र कुराकानी गर्दै गर्दा माया प्रेम बसेपछी विवाह गर्ने निर्णयसम्म पुगेको अनुसन्धानबाट खुलेको छ । तर रेवतीले चार वर्ष अघि गाउँकै अर्का व्यक्तिसँग विवाह गरे पछि आफूलाई धोका दिएको भन्दै हत्या गरेको पाइएको हो । प्रेममा धोका दिएको र विगतमा सहमतिमा खिचिएका शारिरीक सम्बन्धका फोटो तथा भिडियोका विषयमा उनीहरु बिच सामाजिक सञ्जालमै झगडा हुने गरेको समेत पाइएको छ । रेवतीको विवाह भएपछी पनी अभियुक्त बस्नेतले उनको श्रीमानलाई विगतमा लिएका अश्लिल फोटो र भिडियो पठाए पछि रेवतीको घरमा समेत झगडा हुने गरेको देखिएको छ । दुबैमा बस्दै आएका बस्नेतले विदेश हुँदा नै रेवतीको हत्या गर्ने योजना बनाएर घर आउन खोजेपनी कम्पनीले विदा नदिएपछि उनी भदौ २५ गतेमात्र नेपाल आएका थिए । दुबैबाट आएको एक सातामै रेवतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *