सल्यान दुर्घटना अपटेड : २२ जना घाइतेको पूरा विवरणसहित
घोराहीबाट रुकुमकोट जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस राप्ती राजमार्ग अन्तर्गत दाङ रूकुम सडक खण्डको सल्यान बागचौर नगरपालिका-२ ठिङबाङमा खोलाको पुलबाट बस खसेर भएको दुर्घटनामा २२ जना घाइते भएका छन्।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी नविन कार्कीले जनाकारी दिए।
प्रहरीका अनुसार, दुर्घटनमा परी घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका ४ का ४६ वर्षीय गाडी धनि विष्णु विक, तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरीका २९ वर्षीय कृष्ण चौधरी, ३६ वर्षीया दिलकुमारी गौतम, तुलसीपुर-४ रक्षाचौरकी २६ वर्षीया खिमा विक रहेका छन्।
यस्तै तुलसीपुर-६ का ३४ वर्षीय बस चालक पूर्ण शम्शेर जबरा, तुलसीपुर-७ पर्सेनीकी ४९ वर्षीया ठगी बुढा, ४७ वर्षीया मुम्भ कुमारी बुढा, रुकुम पश्चिमको चौरजहारी नगरपालिका-२ की २२ वर्षीया पुष्पा चन्द पनि उक्त दुर्घटनामा घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
यसै गरी सल्यानको शारदा नगरपालिका–५ की १९ वर्षीया सपना भण्डारी, बागचौर नगरपालिका-१ गैराबेतकी ५० वर्षीया भुमा बस्नेत, शारदा नगरपालिका-१५ की २३ वर्षीया योगमाया बस्नेत, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका-२ का ६ वर्षीय रेशम मगर, रुकुम पश्चिमको चौरजहारी नगरपालिका-९ का २९ वर्षीय उमेश मल्ल पनि त्यस दुर्घटनामा घाइते भएका छन्।
त्यस्तै रुकुम पूर्वको सिस्ने गाउँपालिका-६ की ११ वर्षीया अरुणा गौतम, रुकुम पश्चिमको बाफीकोट गाउँपालिका-१ का १४ वर्षीय निश्चल हमाल, सल्यानको बागचौर नगरपालिका-२ की ललिता बस्नेत, सोही ठाउँका २५ वर्षीय सुरेन्द्र बस्नेत, छत्रेश्वरी गाउँपालिका-१ दमाचौरका ३१ वर्षीय विरेन्द्र चन्द, सिद्ध कुमाख गाउँपालिका-१ का १७ वर्षीय बिरबहादुर बस्नेत, त्रिवेणी गाउँपालिका-६ का ३३ वर्षीय बसन्तजंग क्षेत्री र रोल्पा रन्टीगढी गाउँपालिका-५ का २५ वर्षीय रञ्जित विक रहेका छन् ।

