सुकौरा जाने सडक कालोपत्रेका लागि ४ करोड ३५ लाख बजेट विनियोजन
1 min read

सुकौरा जाने सडक कालोपत्रेका लागि ४ करोड ३५ लाख बजेट विनियोजन

तुलसीपुर उपमहानगरपालिका–११ अन्तर्गत उरहरी, डबरा, बेल्टाकुरा, मोतिपुर हुँदै सुकौरा जोड्ने सडक कालोपत्रे गर्ने योजना अघि बढाइएको छ ।

लुम्बिनी प्रदेश सरकारको समपूरक योजनाअन्तर्गत उक्त सडक कालोपत्रेका लागि ४ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो। बहुवर्षीय योजनाका रूपमा सञ्चालन हुने यो आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

योजनाअनुसार कुल लागतको ४० प्रतिशत बजेट लुम्बिनी प्रदेश सरकारले तथा ६० प्रतिशत बजेट तुलसीपुर उपमहानगरपालिकाले व्यहोर्नेछ।

स्थानीयवासीले लामो समयदेखि सडक स्तरोन्नति तथा कालोपत्रेको माग गर्दै आएका थिए। सडक कालोपत्रे भएपछि उरहरी, डबरा, बेल्टाकुरा, मोतिपुर र सुकौरा क्षेत्रका बासिन्दाले सहज आवागमनको सुविधा पाउने अपेक्षा गरिएको छ।

सडक निर्माण सम्पन्न भएपछि स्थानीय कृषि उत्पादनको बजारीकरण, यातायात सेवा विस्तार तथा समग्र क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

स्थानीय जनप्रतिनिधिहरूले योजना कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको जनाउँदै निर्धारित समयभित्र गुणस्तरीय रूपमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *