दाङमा विद्यार्थीहरूको फुड टेस्टिङ कार्यक्रम सम्पन्न

दाङको तुलसीपुर स्थित डिभाइन टेम्पल एकेडेमीमा कक्षा ११ मा होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरूले प्रयोगात्मक अभ्यास अन्तर्गत फुड टेस्टिङ कार्यक्रम सम्पन्न गरेका छन्। कुमाख कलेज सँगको समन्वयमा आयोजित उक्त कार्यक्रममार्फत विद्यार्थीहरूले आफ्नो १५ दिने अभ्यासलाई समापन गरेका हुन्।
कार्यक्रमका क्रममा विद्यार्थीहरूले विभिन्न परिकारहरू तयार गरी उपस्थित अतिथिहरूलाई ती परिकारका विशेषता, प्रयोग गरिएका सामग्री तथा बनाउने विधिबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए। त्यसपछि उनीहरूले तयार पारेका परिकार अतिथिहरूलाई स्वाद चखाएका थिए।
विद्यार्थीहरूले होटल म्यानेजमेन्ट अध्ययनले पढ्दै कमाउँदै गर्न सकिने, आत्मनिर्भर बन्न सकिने तथा स्वदेशमै स्वरोजगार सिर्जना गर्न सकिने धारणा व्यक्त गरे। विद्यालयले किताबी ज्ञानसँगै प्रयोगात्मक अभ्यासलाई प्राथमिकतामा राखेकाले आफूहरू व्यवहारिक रूपमा समेत दक्ष बन्दै गएको अनुभव उनीहरूले सुनाए।
विद्यार्थीहरू रञ्जिता रिजाल र श्रीधर बस्नेतले संयुक्त रूपमा आफ्नो अनुभव साझा गर्दै फुड टेस्टिङ कार्यक्रमले कक्षाकोठामा सिकेका कुरा व्यवहारमा उतार्ने राम्रो अवसर दिएको बताए।

कार्यक्रम डिभाइन टेम्पल एकेडेमीका सीईओ भोजराज न्यौपाने को अध्यक्षता तथा नेपाल जेसीज का राष्ट्रिय उपाध्यक्ष सन्दीप भुसाल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
उक्त अवसरमा प्रमुख अतिथि भुसालले यस्ता प्रयोगात्मक कार्यक्रमहरूले विद्यार्थीहरूलाई सीपमुखी बनाउँदै भविष्यमा उद्यमशील बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरे। त्यस्तै फाउन्डेसनका सीईओ न्यौपानेले विद्यालयले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक शिक्षालाई जोड दिँदै आएको र यसले विद्यार्थीहरूको आत्मविश्वास तथा क्षमता विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए।
डिभाइन टेम्पल एकेडेमीका प्लस टु कोअर्डिनेटर आकाश सिंहले विद्यार्थीहरूलाई दक्ष जनशक्ति बनाउने लक्ष्यसहित यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरिँदै आएको जानकारी दिए। त्यसैगरी कुमाख कलेजका सञ्चालक तुफान केसीले शैक्षिक संस्थाबीचको सहकार्यले गुणस्तरीय शिक्षा प्रदान गर्न थप टेवा पुग्ने धारणा राखे।
