1 min read

इनरुवामा भन्सार छलीको चिनी नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरीमाथि हातपात, महिला व्यापारी नियन्त्रणमा

इनरुवा, सुनसरी — सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ४ स्थित हनुमान चोकमा भन्सार छलेर ल्याइएको चिनी नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरीमाथि हातपात भएको छ। आइतबार दिउँसो भएको यस घटनाले स्थानीय क्षेत्रमा केहीबेर तनाव उत्पन्न गराएको थियो।

सशस्त्र प्रहरी स्रोतले दिएको जानकारी अनुसार, बिहान ८ बजे १०० केजी चिनीको मात्र भन्सार काटेर, त्यसको आडमा तीन बोराभन्दा बढी अवैध चिनी स्कुटरको डिकिमा लुकाएर लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी टोलीले चेकजाँच गरी उक्त सामान नियन्त्रणमा लिन खोजेको थियो।

भन्सार छलीको मालसामान जफत गर्न खोज्दा ती व्यापारी महिलाले आक्रोशित हुँदै ड्युटीमा खटिएका सशस्त्र प्रहरी कर्मचारीमाथि नै हातपात गरेकी हुन्। प्रहरीको कर्तव्य पालनामा बाधा पुर्‍याउँदै कर्मचारीमाथि नै जाइलागेपछि स्थिति नियन्त्रणमा लिन ती महिला व्यापारीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी को जिम्मा लगाइएको छ।

कानूनी प्रक्रिया छल्ने प्रवृत्ति र सुरक्षाकर्मीमाथि हुने यस्ता दुर्व्यवहारका घटनाले सुरक्षा निकायलाई चुनौती थपेको छ भने यस विषयमा थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *