प्र्याङ्कको नाममा साम्प्रदायिक द्वेष फैलाएको आरोपमा तीन जना पक्राउ

सामाजिक सञ्जालमा प्र्याङ्क भिडियो बनाएर साम्प्रदायिक घृणा र द्वेष फैलाएको आरोपमा रुकुम पश्चिम प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाँफिकोट गाउँपालिका–३ का राजन केसी (३१), डिल्ली बहादुर वली (२८) तथा कपिलवस्तु कृष्णनगर नगरपालिका–४ घर भई हाल रुकुम पश्चिममा बेकरी व्यवसाय सञ्चालन गर्दै आएका रघुवीर कोरी (३१) रहेका छन्।
‘Jiban Oli’ नामक युट्युब च्यानलमा असार १० गते (२४ जुन २०२६) सार्वजनिक गरिएको भिडियोमा डेलिभरी ब्वाईमाथि अभद्र व्यवहार गरिएको दृश्य देखिएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। घटनापछि गृहमन्त्री सुधन गुरुङले समेत संलग्न व्यक्तिमाथि तत्काल कारबाही गर्न निर्देशन दिएका थिए।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी बेद बहादुर पौडेलका अनुसार प्रारम्भिक अनुसन्धानमा उक्त भिडियो भाइरल बनाउने उद्देश्यले आपसी सहमतिमा निर्माण गरिएको खुलेको छ। भिडियोमा पीडितको भूमिकामा देखिएका रघुवीर कोरी स्वयं डेलिभरीको काम गर्ने व्यक्ति रहेको र उनले अन्य दुई युवासँग मिलेर योजनाबद्ध रूपमा भिडियो तयार पारेको प्रहरीले जनाएको छ।
भिडियोमा डेलिभरी ब्वाईलाई चोर भन्दै धम्क्याउने, तराई मूलको भन्दै होच्याउने तथा भिरबाट फालिदिने धम्की दिने दृश्य समावेश गरिएको थियो। यद्यपि अनुसन्धानबाट भिडियोका सबै पात्रहरू आपसमा परिचित रहेको र सम्पूर्ण दृश्य पूर्वनियोजित रूपमा छायांकन गरिएको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मनोरञ्जन र भाइरल हुने उद्देश्यले बनाइएको भए पनि प्रयोग गरिएका शब्द र प्रस्तुतिले सामाजिक तथा साम्प्रदायिक सद्भावमा असर पुर्याउने देखिएकाले कानुनी कारबाही प्रक्रिया अघि बढाइएको हो।
पक्राउ परेका तीनै जनालाई हाल हिरासतमा राखिएको छ भने म्याद थपका लागि सोमबार जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।
