‘मास्टर्नी’ गीत विवाद : चर्कियो आलोचना, दुर्गेश र प्रियंकाले मागे सार्वजनिक माफी, युट्युबबाट हटाइयो गीत
1 min read

‘मास्टर्नी’ गीत विवाद : चर्कियो आलोचना, दुर्गेश र प्रियंकाले मागे सार्वजनिक माफी, युट्युबबाट हटाइयो गीत

काठमाडौं । चलचित्र ‘मास्टर्नी’ को प्रचारका लागि सार्वजनिक गरिएको ‘ताराबाजी लै लै’ गीत चर्को विवादमा परेपछि अन्ततः युट्युबबाट हटाइएको छ। गीतमा प्रयोग भएका केही शब्द र दृश्यले शिक्षक तथा शिक्षण पेशाको गरिमामाथि आँच पुर्‍याएको भन्दै देशभरबाट तीव्र आलोचना भएपछि कलाकार दुर्गेश थापा र नायिका प्रियंका कार्की दुवैले सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्।

गीत सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको थियो। विशेषगरी महिला शिक्षक तथा समग्र शिक्षण पेशालाई अपमानित गर्ने खालको प्रस्तुति रहेको भन्दै शिक्षक समुदायले आपत्ति जनाएका थिए। यस विषयमा नेपाल शिक्षक महासंघनेपाल राहत शिक्षक राष्ट्रिय समितिले समेत विज्ञप्ति जारी गर्दै गीत तत्काल हटाउन र सम्बन्धित पक्षलाई कारबाही गर्न माग गरेका थिए।

बढ्दो दबाबपछि गायक दुर्गेश थापाले फेसबुकमार्फत वक्तव्य जारी गर्दै आफ्नो उद्देश्य कसैको भावना, पेशा वा सम्मानमा चोट पुर्‍याउने नभएको बताएका छन्। उनले गीत विशुद्ध रूपमा चलचित्रको प्रचार–प्रसारका लागि निर्माण गरिएको भए पनि केही शब्द र प्रस्तुतिका कारण शिक्षक समुदायको भावनामा चोट पुगेको महसुस गर्दै हृदयदेखि नै क्षमायाचना गरेका छन्।

त्यस्तै, नायिका प्रियंका कार्कीले पनि सामाजिक सञ्जालमार्फत माफी माग्दै कला र मनोरञ्जन प्रस्तुत गर्ने क्रममा समाजको सबैभन्दा सम्मानित पेशा मानिने शिक्षक समुदायमाथि कुनै नकारात्मक प्रभाव पार्ने उद्देश्य नरहेको स्पष्ट पारेकी छन्। उनले अन्जानमै भएको त्रुटिप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा अझ जिम्मेवार र संवेदनशील भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

विवाद बढेसँगै ‘ताराबाजी लै लै’ गीत दुर्गेश थापाको युट्युब च्यानलसहित अन्य सामाजिक सञ्जाल प्लेटफर्मबाट समेत हटाइएको छ।

यस घटनाले कलाकारहरूको अभिव्यक्ति स्वतन्त्रता र सामाजिक जिम्मेवारीबीचको सन्तुलनबारे नयाँ बहस सिर्जना गरेको छ। शिक्षक समुदायले माफीलाई सकारात्मक रूपमा लिए पनि भविष्यमा यस्ता सामग्री निर्माण गर्दा बढी संवेदनशील हुन आग्रह गरेको छ।

शिक्षकको सम्मानमाथि प्रश्न उठाउने भन्दै सुरु भएको विवाद अन्ततः सार्वजनिक माफी र गीत हटाउने निर्णयसम्म पुगेको छ। अब आगामी दिनमा चलचित्र ‘मास्टर्नी’ र यसको टिमले दर्शकको विश्वास पुनः जित्न सक्ने वा नसक्ने भन्ने विषय चासोको केन्द्र बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *