मतदान अधिकृतमाथि दुर्व्यवहार भएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनको ध्यानाकर्षण
1 min read

मतदान अधिकृतमाथि दुर्व्यवहार भएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनको ध्यानाकर्षण

दाङ, साउन २७ । नेपाल राष्ट्रिय शिक्षक संगठन दाङले घोराही उपमहानगरपालिका–१५ स्थित पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनका लागि भइरहेको मतदानका क्रममा मतदान अधिकृतमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संगठनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मतदान अधिकृतका रूपमा खटिएका घोराही उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाका अधिकृत अजय बोहोरामाथि हातपात, अपमान तथा अभद्र व्यवहार भएको आरोप लगाएको छ।

विज्ञप्तिअनुसार घोराही–१५ का निर्वाचित वडा सदस्य लेकराज बुढाथोकीको नेतृत्वमा मतदान अधिकृतमाथि सार्वजनिक स्थलमै हातपात गर्ने, अपमान गर्ने, मसी दल्ने तथा बोतलले हान्ने प्रयासजस्ता गतिविधि भएको उल्लेख गरिएको छ।

नेपाल राष्ट्रिय शिक्षक संगठनले विद्यालय जस्तो शान्त क्षेत्रको औपचारिक कार्य सम्पन्न गर्न खटिएका राष्ट्रसेवक कर्मचारीमाथि सार्वजनिक रूपमा गरिएको हिंसात्मक व्यवहारको भर्त्सना गर्दै घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी निष्पक्ष अनुसन्धान तथा कानुनबमोजिम कारबाही गर्न माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *