देवघाटमा स्कुटर छाडेर बेपत्ता भएकी सन्तोषी श्रेष्ठको शव भारतमा फेला
1 min read

देवघाटमा स्कुटर छाडेर बेपत्ता भएकी सन्तोषी श्रेष्ठको शव भारतमा फेला

केही दिनअघि देवघाटबाट रहस्यमय रूपमा बेपत्ता भएकी नवलपुरको गैंडाकोट नगरपालिका–२ निवासी २८ वर्षीया सन्तोषी श्रेष्ठ मृत अवस्थामा फेला परेकी छन्। उनको शव नारायणी नदीले बगाएर भारततर्फ पुगेको अवस्थामा फेला परेको पुष्टि भएको छ।

परिवारका अनुसार असार १४ गते साँझ करिब ८ बजे बा.प्र.०६–००१ प १४९९ नम्बरको स्कुटर लिएर घरबाट निस्किएकी सन्तोषी त्यसपछि सम्पर्कविहीन भएकी थिइन्। परिवारले खोजी गर्ने क्रममा उनको स्कुटर तनहुँ र चितवनको सिमानामा रहेको धार्मिक स्थल देवघाटको हनुमानचोकमा बेवारिसे अवस्थामा फेला परेको थियो।

स्कुटर भेटिएसँगै प्रहरी, स्थानीयवासी तथा परिवारजनले नारायणी नदी आसपासका क्षेत्रमा व्यापक खोजी अभियान सञ्चालन गरेका थिए। यसैबीच, असार १७ गते त्रिवेणी नजिक भारतीय क्षेत्रमा एक अज्ञात महिलाको शव फेला परेको जानकारी प्राप्त भएको थियो। पहिचान खुल्न नसकेपछि भारतीय सुरक्षाकर्मीले कानुनी प्रक्रिया पूरा गरी शवको व्यवस्थापन गरिसकेका थिए।

पछि भारतीय प्रहरीले सुरक्षित राखेको शवको फोटो र भिडियो नेपालस्थित परिवारलाई उपलब्ध गराएपछि उक्त शव सन्तोषी श्रेष्ठकै भएको पुष्टि भएको हो। उनले बेपत्ता हुने दिन लगाएको कुर्ता, विन्डप्रुफ ज्याकेट तथा हातको औंठी समेत भारतीय प्रहरीले परिवारलाई बुझाएको बताइएको छ।

यद्यपि, शव भारतीय क्षेत्रमै व्यवस्थापन भइसकेकाले भौतिक रूपमा शव नेपाल ल्याउन सम्भव नभएको जनाइएको छ। परिवारले हिन्दू धार्मिक परम्पराअनुसार आज देवघाट धाममा प्रतीकात्मक अन्त्येष्टि तथा उत्तरक्रिया सुरु गरेका छन्।

यस घटनाले परिवार र स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। सन्तोषी नदीमा कसरी पुगिन् र घटनाको वास्तविक कारण के हो भन्ने विषयमा नेपाल र भारतका सुरक्षा निकायबीच थप समन्वय र अनुसन्धान आवश्यक रहेको स्थानीयवासीले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *