गिद्ध संरक्षणमा योगदान पुर्याएको भन्दै नेपाल टेलिभिजनका दाङ संवाददाता डाँगी सम्मानित
दाङ
१८औँ अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसको अवसरमा गिद्ध संरक्षण तथा जैविक विविधता संरक्षणका क्षेत्रमा योगदान पुर्याउने सञ्चारकर्मीलाई सम्मान गरिएको छ। पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र, दाङको आयोजनामा तथा नेपाल पन्छी संरक्षण संघको सहयोगमा आयोजित ‘गिद्ध संरक्षणका लागि सञ्चारकर्मीहरूको भूमिका विषयक अन्तरक्रिया तथा सम्मान कार्यक्रम’ मा नेपाल टेलिभिजनका दाङ संवाददाता विकास डाँगी सम्मानित भएका हुन्।

नेपालमा गिद्ध संरक्षण तथा समग्र जैविक विविधता संरक्षणका क्षेत्रमा पुर्याएको योगदानलाई जनसमक्ष पुर्याउने उद्देश्यले नेपाल टेलिभिजनमार्फत समाचार प्रसारण गरी गिद्ध तथा जैविक विविधता संरक्षणको महत्त्व उजागर गरेको भन्दै डाँगीलाई सम्मान गरिएको आयोजकले जनाएको छ। कार्यक्रम पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतको अध्यक्षतामा एवं वरिष्ठ वन अधिकृत खिमबहादुर केसी प्रमुख आतिथ्यतमा र नेपाल पन्छी संरक्षण संघका कार्यक्रम/परियोजना अधिकृत भुपाल नेपालीको विशिष्ट आतिथ्यतमा कार्यक्रम भएको हो । कार्यक्रममा गिद्ध संरक्षण, जैविक विविधताको संरक्षण तथा संरक्षण अभियानमा सञ्चारकर्मीको भूमिकाका विषयमा अन्तरक्रिया समेत गरिएको थियो । नेपाल सरकारले गिद्ध संरक्षणका लागि २०६३ जेठ २३ गतेदेखि पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनेक औषधिको प्रयोग, उत्पादन, आयात तथा बिक्री–वितरणमा प्रतिबन्ध लगाएको थियो। गिद्धका लागि विषालु मानिने उक्त औषधिको प्रयोगका कारण गिद्धको संख्या तीव्र रूपमा घटेपछि प्रतिबन्ध लगाइएको हो।
