अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सवको तयारी तीव्र
1 min read

अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सवको तयारी तीव्र

दाङ : यही फागुन १८ गतेदेखि घोराहीमा हुने १२ औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० को तयारी तीव्र पारिएको छ । पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार भन्ने मूल नाराका साथ आयोजना गरिएको अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवको तयारी तीव्र पारिएको आयोजक मूल समितिले जानकारी दिएको छ । महोत्सवका लागी गठन भएका विभिन्न समिति उपसमितिहरूले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको आयोजक मूल समितिका संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले जानकारी दिए ।

महोत्सवका लागी नेपाल सरकारको संघ, प्रदेश, स्थानीय तह, जिल्लाका उद्योग वाणिज्य संघ, विभिन्न निकायहरू, सङ्घसंस्थाहरूसँग समन्वय सहकार्य भइरहेको छ । महोत्सव प्रचारप्रसारका लागी पत्राचार, पर्चा पम्लेट वितरण, माइकिङ लगायतका कामहरू तीव्र रुपमा भइरहेको मूल समितिले जनाएको छ । महोत्सव सञ्चालन हुने घोराहीको कृषि सामाग्री केन्द्रको प्राङ्गण ( जिल्ला अदालतको पश्चिमतर्फ ) मा भौतिक निर्माणको काम भइरहेको, दाङ आउने कलाकारहरूलाई स्वागतसँगै आवास भोजनका लागी घोराहीमा रहेका होटलहरूसँग छलफल गरि नेपाली रहन सहन अनुसार सेवा प्रवाह गर्ने विषयमा छलफल गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए।

दाङको विभिन्न पर्यटन तथा व्यवसायिक क्षेत्रहरूमा टेवा पुर्‍याउने , आर्थिक सङ्कटको बेलामा पनि आर्थिक चलायमान गराउने, दाङ सहित लुम्बिनी प्रदेशकै कला संस्कृति तथा पर्यटनलाई विश्वसामु परिचित गराउन भूमिका खेल्ने, विभिन्न देशहरूको कला संस्कृतिको जिल्लामै बसेर जिल्लाबासीहरूलाई अवलोकन गराउने लगायतका उद्देश्य राखेर आयोजना गरिएको अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा नेपाल सहित १३ देशका ३ सय बढि कलाकारहरूको प्रस्तुति रहने छ । महोत्सवको अघिल्लो दिन फागुन १८ गते स्थानीय झाँकी सहित शोभा यात्रासँगै महोत्सवको उद्घाटन गरिनेछ भने फागुन १९ र २० गते नेपाली सांगीतिक क्षेत्रका कलाकारहरूको प्रस्तुति रहने छ ।
यस्तै फागुन २१ गते नेपाल सहित १३ देशका ३ सय बढि कलाकारहरूको प्रस्तुति रहने छ । जसमा नेपाल, अष्ट्रिया, बेल्जियम, बोट्रसवाना, इस्टोनिया , जर्मन, भारत, इजरायल, मलेसिया, पेरु, पोल्याण्ड, दक्षिण अफ्रिका, दक्षिण कोरिया लगायत देशका कलाकारहरूको प्रस्तुति रहने छ । १२ औँ अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा प्रवेशका लागी एक सय रुपैयाँको टिकट शुल्क निर्धारण गरिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघले यसअघि विस २०६८ मा अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सव आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *