रासायनिक मल र विषादीले मानसिक रोगको खतरा बढ्दै दाङलाई अर्गानिक उपत्यका बनाउन पहल
1 min read

रासायनिक मल र विषादीले मानसिक रोगको खतरा बढ्दै दाङलाई अर्गानिक उपत्यका बनाउन पहल

दाङ :  जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले रासायनिक मल र विषादी मिसिएको खानपानका कारण मानसिक रोगको जोखिम बढ्दै गएको चेतावनी दिएका छन्। बुधबार बिजौरीमा आयोजित कार्यक्रममा उनले किसानहरूले गाईगोरुबाट प्राप्त हुने जैविक मलको सट्टा अत्यधिक रासायनिक मल र विषादी प्रयोग गर्न थालेको बताउँदै यसको दीर्घकालीन असर मानसिक स्वास्थ्यमा देखिन थालेको उल्लेख गरे।

“अर्गानिक खानपानमा ध्यान नदिँदा मानसिक रोगको शिकार हुनेको संख्या बढिरहेको छ,” प्रमुख शर्माले भने, “सरकारले नै अनुदानमा दिने रासायनिक मल रोगको मुख्य स्रोत बन्दै गएको छ।” वडा नं. १६ का अध्यक्ष शिवानन्द डाँगीले विषादी प्रयोगलाई ‘मन्द विष सेवन’को रूपमा परिभाषित गर्दै, यसकै कारण क्यान्सर, मधुमेह, एन्जाईटीजस्ता रोग बढेको बताए। वडा नं. १८ का अध्यक्ष माधव वलीले विषादीमुक्त उत्पादनलाई प्राथमिकता दिनुपर्ने र बीउ–मल वितरणमा स्पष्ट नीति आवश्यक रहेकोमा जोड दिए।

पत्रकार महासंघका उपाध्यक्ष ओपेन्द्र बस्नेतले अर्गानिक उत्पादनलाई सरकारले नीतिगत रूपमा अघि बढाए, यस्ता चेतना कार्यक्रमको आवश्यकता नपर्ने बताए। पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको आयोजनामा, अध्यक्ष डिल्ली बहादुर रावत र सचिव मेनका शर्माको सहजीकरणमा सम्पन्न कार्यक्रममा २०९० सम्म दाङ उपत्यकालाई अर्गानिक उपत्यका बनाउने लक्ष्यसहित पहल गर्ने निर्णय गरिएको छ।   

संयुक्त राष्ट्रसङ्घ विश्व वातावरणीय कोष अन्तर्गत साना अनुदान कार्यक्रम वापत प्राप्त अनुदान ५३ लाख ६९ हजार ८४७ रुपैयाँको खर्च विवरण सार्वजनिक गरेको हो । सो रकम जलवायु परिवर्तनको प्रभाव कम गर्न जैविक खेतीको पहल गर्दै अर्गानिक दाङ उपत्यका घोषणा कार्यक्रमका लागी उपलब्धि गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *