तुलसीपुर महोत्सवमा ‘लन्डन ब्रिज’ र ‘जलपरी’ आकर्षण
तुलसीपुर, १८ मंसिर। दाङको तुलसीपुरमा हुने आगामी तुलसीपुर महोत्सवमा विशेष आकर्षणका रूपमा लन्डन ब्रिज र जलपरी प्रदर्शनी गरिने भएको छ। पछिल्लो समय विभिन्न महोत्सवमा लोकप्रिय बन्दै आएका यी दुवै संरचनाले दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ।

यो आकर्षण निर्माणका लागि बिहीबार एक औपचारिक कार्यक्रमसहित सिलान्यास गरिएको छ। सिलान्यास कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीसहितको टोली उपस्थित थियो।
आउँदो पुस ४ गतेदेखि सुरु हुने महोत्सवमा दर्शकलाई नयाँ अनुभव दिने उद्देश्यले लन्डन ब्रिज र जलपरी राखिएको महासचिव भद्र वलीले बताए। उनका अनुसार, यसप्रकारका दृश्य–सामग्रीहरूले महोत्सवमा थप आकर्षण र भीड बढाउने विश्वास लिइएको छ।
