जन्मदिनको अवसरमा अनुजा कँवरद्वारा विद्यालयलाई शैक्षिक सामग्री वितरण
1 min read

जन्मदिनको अवसरमा अनुजा कँवरद्वारा विद्यालयलाई शैक्षिक सामग्री वितरण

दाङ,तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका–११ प्रीगाउँस्थित प्रावि प्रीगाउँमा समाजसेवी अनुजा कँवरले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयलाई शैक्षिक, खेलकुद तथा आवश्यक सामग्री सहयोग गरेकी छन्।

कँवरले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गर्नुका साथै खेलकुद सामग्री र विद्यालयलाई आवश्यक अन्य सामग्री समेत प्रदान गरेकी हुन्। सहयोगको कुल मूल्य करिब १४ हजार रुपैयाँभन्दा बढी रहेको बताइएको छ।

विपन्न परिवारका विद्यार्थीहरूलाई सहयोग गर्न पाउँदा आफू निकै खुशी भएको बताउँदै कँवरले शिक्षा क्षेत्रको विकासमा सबैको साथ र सहयोग आवश्यक रहेको धारणा व्यक्त गरिन्।

कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक रमा बस्नेतले विद्यालयको अवस्था बुझेर सहयोग गरेकोमा अनुजा कँवरप्रति आभार व्यक्त गरिन्। उनले यस्ता सहयोगले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक प्रभाव पर्ने बताइन्।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम चौधरीले पनि अनुजा कँवरलाई धन्यवाद दिँदै सामाजिक उत्तरदायित्वका यस्ता कार्यहरू उदाहरणीय रहेको उल्लेख गरे।

स्थानीयवासी तथा विद्यालय परिवारले कँवरको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरू निरन्तर रहून् भन्ने अपेक्षा व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *