खाजा खर्च बचत गरेर विद्यालयलाई यती ठुलो सहयोग
1 min read

खाजा खर्च बचत गरेर विद्यालयलाई यती ठुलो सहयोग

दाङ । जहाँ अधिकांश बालबालिका आफ्ना साना-साना चाहना पूरा गर्न खाजा खर्च गर्ने गर्छन्, त्यहीँ तुलसीपुर उपमहानगरपालिका ५ निवासी समाजसेवी मन्जित पुनकी छोरी जोयमले भने खाजा खर्च बचाएर शिक्षा, सामाजिक सेवा र वातावरण संरक्षणका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेकी छन् ।

उनले लामो समयसम्म जोगाएर राखेको बचत रकमबाट तुलसीपुर ११ स्थित प्राथमिक विद्यालय प्रीगाउँलाई ३२ इन्चको एलईडी टिभी, ३६ जना विद्यार्थीलाई कापी, एक अति विपन्न छात्रालाई विद्यालय पोशाक तथा विभिन्न प्रजातिका बिरुवा सहयोग गरेकी हुन् । सानो उमेरमा देखाएको उनको उदारता र सामाजिक संवेदनशीलताले उपस्थित सबैको मन छोएको थियो ।

सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष मनबहादुर रावत, वडा सदस्य प्रभा परियार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम चौधरी, प्रधानाध्यापक रमा बस्नेत (योगी), शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले बालिकाको यो कार्यलाई केवल सहयोगमा सीमित नभई समाजका लागि प्रेरणाको सन्देशका रूपमा व्याख्या गरेका थिए । उनीहरूले सानो उमेरमै बचतको महत्व बुझेर शिक्षा र समाजसेवामा समर्पित हुनु प्रशंसनीय र अनुकरणीय कार्य भएको बताएका थिए । विद्यालय परिवारले प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै एलईडी टिभीले प्रविधिमैत्री शिक्षण सिकाइमा टेवा पुग्ने, कापीले विद्यार्थीहरूको अध्ययनलाई सहज बनाउने र बिरुवाले विद्यालय परिसरलाई हरियाली तथा वातावरणमैत्री बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *