शिक्षकले गरे छात्रामाथि गोली प्रहार
२२ वैशाख, झापाको दमक नगरपालिका–५ ज्येष्ठ नागरिक भवन अगाडि शुक्रबार दिउँसो साढे १२ तीर कक्षा १२ को परीक्षा दिएर फर्किदै गरेकी एक छात्रामाथि शिक्षकले गोली प्रहार गरेका छन् । सडकमा किशोरी छट्पटाइरहेको देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरे गरेका थीय ।
इलाका प्रहरी कार्यालय दमकबाट डीएसपी निशान थापा कमान्डको टोली घटनास्थल पुगेर छात्राको ‘रेस्क्यु’ गर्यो । प्रहरीले सोधपुछ गर्ने क्रममा किशोरी कक्षा १२ को परीक्षा दिएर फर्किएको खुल्यो । उदयपुर घर भएकी उनी दमकमा बसेर अध्ययन गर्दै थिइन् । परीक्षा दिएर फर्किने क्रममा उनीमाथि गोली प्रहार भएको खुल्यो ।
स्थानीय एक अस्पतालमा उपचारत किशोरीको पेटमा डढेको, दबेको र ददारिएजस्तो चोट छ । यद्यपी उनको शरीरभित्र भने गोली प्रवेश नगरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख तथा एसपी मिलन केसीले जानकारी दिए ।
गोली हान्ने व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । भारतीय सीमा नाकाहरूमा विशेष निगरानी बढाएको कोशी प्रदेशका प्रमुख तथा डीआईजी चन्द्रकुवेश खापुङले जानकारी दिए ।
पहिले दुर्व्यवहार, अहिले हत्या प्रयास
घाइते किशोरीले आफूमाथि गोली प्रहार गर्ने व्यक्ति सिरहाका अमितकुमार यादव भएको बताएकी छन् ।
उनी घाइते किशोरीका शिक्षकसमेत हुन् । प्रहरी स्रोतका अनुसार उनी उदयपुरमा कार्यरत रहेको बेला दुव्यर्वहार गरेपछि किशोरीले साउन २०७९ प्रहरीमा जाहेरी दिएकी थिइन् ।
यादवले मुद्दा फिर्ता लिन प्रलोभन देखाए, दबाब दिए । तर किशोरीले मुद्दा फिर्ता नलिएपछि उनी फरार भए । शुक्रबार परीक्षा दिएर फर्किएकी किशोरी अगाडि गएर मोटरसाइकल रोक्दै यादवले मुद्दा फिर्ता लिन दबाब दिएका थिए ।
तर कुनै जवाफ नदिएपछि तँ, तेरो दिदी र …(जाहेरी हाल्न सघाउने व्यक्ति) लाई नमारी म जेल जान्नँ’ भन्दै किशोरीमाथि गोली हानेको एक अनुसन्धान अधिकारीले जानकारी दिए । घटनाबारे विस्तृत रूपमा अनुसन्धान हुन भने बाँकी छ ।
अनलाई खबर बाट

